धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाता चौकस्थित पुरानो अस्पतालको नामले परिचित क्षेत्रको सदुपयोग हुन नसक्दा असुरक्षित बन्दै गएको छ ।
शनिबार राति धरान १४ का २१ वर्षीय राजन थापा मगरमाथि सोही स्थानमा धारिलो हतियार प्रयोग गरी सांघातिक हमला भएको छ । उनको टाउकोको वायाँपट्टि कानसहित लत्रिने गरी खुकुरी प्रहार गरिएको धरान १४ का वडा सदस्य सोभा पुलामीले बताएका छन् ।
बोल्न नसक्ने गम्भीर अवस्थामा उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको उनले बताए । आक्रमण कसले किन गर्यो भन्नेबारे कुनै जानकारी नभएको पनि उनले बताए ।
उक्त क्षेत्र खुला र एकान्त भएकाले लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालनमा रहे पनि काम गर्ने वातावरण नरहेको त्यहाँका कर्मचारीहरु बताउंछन् ।
वीपी प्रतिष्ठानको स्वामितवमा रहेको १ विगाह १३ कठ्ठा १४ धुर क्षेत्रफलमा रहेको जग्गा तथा जीर्ण भवनहरुमा अहेव र अनमीको स्तरबाट स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालन तथा सुकुम्वासी, पुनस्र्थापना गृह, पार्किङ आदि अनाधिकृत रुपले रहेकाले धरानको मुटुमा रहेको जग्गाको दुरुपयोग हुनुका साथै अपराधिक एवम् असमाजिक गतिविधि बढ्दै गएको छ ।
वीपी प्रतिष्ठानले बिरामीको चाप तथा प्रभावकारी एवम् गुणस्तरीय सेवालाई ध्यानमा राखेर उक्त क्षेत्रमा निकट भविष्यमा सय शैय्याको अस्पताल निर्माण गर्ने र तत्काल जेनेरल मेडिसिन र स्त्री रोगसम्बन्धी ओपिडी तथा ल्याव, एक्सरे र अल्ट्रासाउण्ड सुविधासहितको अस्पताल सेवा विस्तार गर्न लागेको भए पनि धरान उपमहानगरपालिकाले असहयोग गरेको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए ।
उपमहानगरपालिकाले एकातिर जीर्ण भवनमा स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालन गर्ने अर्कोतिर प्रतिष्ठानले धनपाको समेत प्राविधिक मूल्यांकन र रायअनुसार आवश्यक मर्मत सम्भार गरेर सेवा विस्तार गर्न खोज्दा पाउँदैन । नयाँ संरचना नै बनाउनुपर्छ भनेर सेवा विस्तारमा अवरोध गरेको अस्पताल सेवा विस्तारका संयोजक समेत रहेका उनले बताए ।
प्रतिष्ठानमा सामान्य बिरामी र स्वास्थ्य बीमाका बिरामीहरुको चापले गर्दा जटिल प्रकारका बिरामीहरुको उपचार प्रभावित हुंदै आएको छ । सेवा विस्तार प्रतिष्ठानको कर्तव्य भएता पनि आवश्यकता जनताको भएकाले धनपा र सम्बन्धित सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।