पाँचथर । एक पछि अर्को पाशविक हत्याको घटना सार्वजनिक भइरहेको पाँचथर जिल्लामा आइतबार फेरि एक बृद्धको शव फेला परेको छ ।

फिदिम–४, स्थित हेंवाखोलामा आइतबार भारपाका एक बृद्ध मृत अवस्थामा भेटिएका हुन् । मृत व्यक्ति हिलिहाङ गाउँपालिका–४, भारपा बस्ने ७० वर्षीय दलबहादुर योङहाङ रहेको प्रहरीले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार उनी शनिबार नै घरबाट निस्केका थिए । उनको शव खोलामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको शव आइतबार नै जिल्ला अस्पतालमा पोष्टमार्टम गरेपछि परिवारले बुझेको पाँचथर प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।