फिदिम । जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्ये ७ जनाको कैद मिनाहा भएको छ ।
गणतन्त्र दिवसको असवरमा मन्त्रिपरिषदको सिफारिसअनुसार ७ जनाको कैद भुक्तान माफी गरिएको हो । गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र माफी दिन उपयुक्त देखिएका कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको कारागार प्रशासनले जनाएको छ ।
२०७६ जेठको १० गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार कैद माफी पाउनेहरुमा विजय सम्बाहाम्फे, सिद्धधिकर्ण राई, लालबहादुर तामाङ, सुवास राई, रामबहादुर थेगिम, प्रकाश आङथुपो र देउमान रम्तेल रहेका छन् । उनीहरु ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आगलागी लगायतका मुद्दामा कैद भुक्तान गरिहेका थिए ।