झापा । अर्जुनधारा नगरपालिकाले समयसीमा तोकेर ट्याक्टर, ट्रक र टिपरलाई टाइम कार्ड लागू गर्ने भएको छ ।

नगरको मुख्य सडकमा विद्यालय समयलाई मध्यनजर गरी टाइम कार्ड लागू गर्न लागिएको नगर प्रमुख हरिकुमार रानाले बताए । उनका अनुसार बिहान ९ः३० बजेदेखि १०ः३० बजे र अपराह्न ३ः३० बजेदेखि ४ः३० बजेसम्म टाइम कार्ड लागू हुनेछ ।

त्यस्तै, राति ९ः३० बजेदेखि बिहान ५ बजेसम्म उक्त टाइम कार्ड लागू हुनेछ । विद्यार्थी, कर्मचारीलगायतलाई सहज हुनेगरी टाइम कार्ड लागू गरिने उनको भनाइ छ । उक्त टाइम कार्ड नगरसभाले पारित गरेपछि साउन १ गतेदेखि लागू हुने बताइएको छ ।

ट्याक्टर व्यवसायी, जनप्रतिनिधिलगायतसँग बुधबार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त टाइम कार्ड उल्लंघन गरे एक हजार रुपैयाँ जरिवाना लिने पनि निर्णय गरेको छ । नगर प्रमुख रानाले सर्वसाधारणको हितविपरीत हुने काम नगर्न पनि अनुरोध गरे ।

त्यस्तै, नदीजन्य सामग्रीको उत्खनन् तथा ओसारपसारमा सरकारले बर्सेनि प्रतिबन्ध लगाउँदै आएको असार, साउन र भदौमा जबरजस्ती गरेको पाइएमा जरिवाना गरिने भएको छ ।

बैठकले पहिलोपल्ट फेला परे ६ हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै, दोस्रो पटकमा ८ हजार, तेस्रो पटकमा १० हजार जरिवाना गर्ने र चौथो पटक पनि फेला परे सवारीसाधन जफत गरी यातायात व्यवस्था कार्यालय मेचीमा कारबाहीका लागि पठाउने निर्णय पनि गरेको छ ।

सोही बैठकले व्यवसायीले प्रतिबन्धित समय अगावै घाटगद्दी गरेको नदीजन्य सामग्रीको प्रमाणित गर्ने व्यवस्था पनि गरेको छ । बर्खा लाग्नु अगावै गरिएको घाटगद्दीको नगरपालिकाले प्रमाणित गरेको खण्डमा ओसारपसार गर्न मिल्ने बताइएको छ ।

नगरमा बढी खोलानाला भएकाले पनि दैवी विपत्तिबाट बच्नका लागि स्वनियमन गर्न जरुरी रहेको नगर प्रमुख रानाले बताए । सम्भावित क्षतिबाट बच्न के गर्न सकिन्छ भन्ने विषयलाई मनन् गरी यस्तो निर्णय गरिएको उनको भनाइ थियो ।

अर्जुनधाराका ट्याक्टर व्यवसायी गणेश प्रधानले विद्यालय समयमा लागू गरिने टाइम कार्डको प्रशंसा गरे । शनिश्चरे प्रहरी कार्यालयका इन्चार्ज राजन खड्काले सवारीसाधनबाट हुने ध्वनि प्रदुषणका बारेमा गाउँबाट बढी गुनासो आउने गरेको सुनाए ।

त्यस्तै, वडा नम्बर ९ का रुद्र न्यौपानले बिहानको ३ बजेदेखि नै सवारीसाधन चलेकाले बढी प्रदुषण भएको भन्दै नगरसमक्ष गुनासो गरे । उनीहरुले लाइसेन्स नभएका सवारी चालक बढी ट्याक्टरमा देखिएको भन्दै नियमन गर्न पनि अनुरोध गरे ।