झापा । झापाको बिर्तामोडमा भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ । आज बिहान ४ः१० बजे बिर्तामोड २ रामचौकस्थित बडी ग्यारेजभित्रको क्यान्टिनमा आगलागी भएको थियो ।

 

आगलागीमा परी क्यान्टिनमा काम गर्ने गौरीगञ्ज २ बस्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो । मृतक क्यान्टिन सञ्चालक सिर्जना तामाङकाे बुवा हुन् । ध्रुब भट्टराईको जग्गामा टिनको छानो भएको घरमा बिर्तामोड ४ बस्ने रबि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठुला सवारी साधन मर्मत केन्द्र) को क्यान्टिनमा विद्युत सर्ट भई आगलागी भएको थियो ।

 

आगलागीबाट क्यान्टिनभित्र रहेको भाडाबर्तन, लत्ताकपडा, ३ थान खसीबाख्रा, नगद एक लाखसमेत पूर्णरुपमा जल्दा ३ लाख बराबरको क्षति भएको बताइएको छ । त्यस्तै, बडी ग्यारेजमै टाँसिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल टाइल्सको गोदाममा समेत सामान्य क्षति भएको छ ।

 

दमकलबाट आगो निभाउने क्रममा अग्रवालको गोदामभित्र रहेको अन्दाजी २०-२५ बोरा सिमेन्ट भिजेर २५ हजार बराबरको क्षति भएको छ । प्रहरी, दमकल, स्थानीयबासीको सहयोगमा आगो बिहान ४ः३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।