झापा । आफ्नै भान्जी बलात्कार गरेको अभियोगमा झापाको शिवसताक्षी—११ स्थित दूधेबाट एक व्यक्ति पक्राउ परेका छन् ।

दूधेका ४१ वर्षीय एक अधवैशें मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया बालिका भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भएको थियो । गत बिहीबार बिहान घरमा कोही नभएको मौकाछोपी मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको बालिकाले बताएकी छन् ।

‘घरमा कोही पनि हुनुहुन्थ्यो, माइजुलाई पनि मासु किन्न पठाएर मामाले मलाई मुख थुनेर त्यस्तो गर्नुभयो’, ती बालिकाले भनिन् । स्थानीय एक विद्यालयमा अध्ययनरत ती बालिकाले आइतबार साथीलाई रुँदै घटनाबारे सुनाएपछि उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले अभियुक्त मामालाई सोमबार नै पक्राउ गरेको बताए । तर, यसरी आफ्नै सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको समेत खुलेको छ ।

पीडितकी बुबा भारतको दार्जीलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक समेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी छिन् । अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित बालिकाकी आमालाई समेत दबाब र प्रभावमा पारेर मेडिकल टेष्ट र जाहेरी दर्ता नगर्न दबाब दिइरहेको समेत पाइएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेले पीडित बालिका र अभियुक्तको समेत मेडिकल टेष्ट गराएको र थप अनुसन्धान भइरहेको जनाएको छ । दार्जीलि घर भएकी पीडित बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा छिन् । ती बालिका विगत २ वर्षदेखि मावलमा बसेर अध्ययनरत थिइन् । मामाले यसअघि पनि चुम्बन गर्ने लगायतका शारीरिक र्दुव्यवहार गर्दै आएको पीडित बालिकाले बताइन् ।