झापा । हिलिहाङ गाँउपालिका-४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्या गरेर फरार रहेका पदम तामाङ पक्राउ परेका छन् ।

तामाङलाई आइतबार झापाको दमकबाट पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरले बताउनुभयो ।

फाल्गुनन्द गाउँपालिका-२ पात्लेभञ्ज्याङका तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोग लिएर गएको वैशाख २९ गते साँझ शीतलको गाउँमै पुगेर घाँटी रेटेर हत्या गरी शव सडक छेउमा फालेका थिए । बाँस्तोलालाई प्रहरीले वैशाख ३० गते नै पक्राउ गरेको भए पनि तामाङ फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथर र झापाका विभिन्न प्रहरी युनिटसँगको सहकार्यमा तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो ।

पदम र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि शीतलको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाका मुख्य योजनाकार तामाङ पक्राउ परेकाले घटनाको थप रहस्य अब खुल्ने प्रहरीले जानकारी दिएको छ ।

किशोरीको हत्या भएको २१ दिनपछि घटनाका मुख्य आरोपितलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।