सोलुखुम्बु । सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल भएको छ ।

गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लब माओबादीका कार्यकर्ता चौकी पुगेको भए पनि त्यसअघि नै प्रहरी हतियारसहित बाहिरिसकेकाले कब्जाको रणनिति असफल भएको उच्च स्रोतले जनाएको छ ।

माओबादी कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी र माओबादी कार्यकर्ताबीच भेट नभएको भए पनि मध्यान्ह १२ बजेदेखि विप्लव कार्यकर्ता बिहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।

महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ । अहिले जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले वैठक चलिरहेकाले वैठकपछि मात्र सूचना दिने प्रतिक्रिया दिए ।

प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकोप्टर मार्फत पुगिसकेका छन् । घटना जिल्ला सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा भएको हो । थप विवरण आउन बाँकी छ ।