झापा । लायन्स क्लब अफ बिर्तामोड सिटीको अगुवाईमा सोमबार बिर्तामोडमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थापनाअघि नै समाजसेवामा सक्रिय रहेको क्लबले आधिकारिक स्थापनाको छ महिनामै उपलब्धिमुलक अभिमुखीकरण कार्यक्रम गर्न सफल भएको छ । ‘नयाँ क्लब ओरेन्टेसन प्रोग्राम’ नाम दिइएको कार्यक्रममा आयोजक क्लबका साथै लायन्सका आधा दर्जन क्लबका पदाधिकारी र सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममा कनकाई सुरुङ्गा, अनारमनी तथा प्रस्तावित क्लबहरु मेचीनगर, अर्जुनधारा, बिर्तामोड लेडी क्लबका सदस्यको उल्लेख्य सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा लायन्सका सदस्यहरुलाई इतिहास, संगठनात्मक जानकारी र सेवालगायत विषयका बारेमा प्रस्ट पारिएको थियो । कार्यक्रममा ४५ जना लायन्स सदस्यहरुको सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष नीरज ओलीको अध्यक्षताका भएको कार्यक्रममा वरिष्ठ प्रशिक्षकहरु लीलाकुमार ढुङ्गेल, सन्देशदास श्रेष्ठ र विकास अधिकारीले सहजीकरण तथा प्रशिक्षण दिएका थिए । कनकाई सुरुङ्गाका अध्यक्ष लीला चिमरियाले सञ्चालन गरेको कार्यक्रममा सत्यनारायण अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए ।