झापा । अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन सुरु गरेको छ ।

११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घर घर पठाएर नगरले बनाएको मापदण्ड अनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट सुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताए । उनका अनुसार गतबर्षदेखि नै घरधुरी कर लिने नौ प्रकारको मापदण्ड बनाएर नगरपालिकाले जनताकै घरमा पुगेर कर उठाउन थालेको हो ।

उनले फुसको साधारण घर छ भने २० रुपैयाँ, टिनको छानो सेन्ट्रल बेरा गरिएको १ तला छ भने ६० रुपैयाँ, टिनको छानो एक तला पक्कीको ८० रुपैयाँ, पहिलो तला ढलाई गरिएको र दोस्रोमा टिनको छानो लगाएकोमा १५० रुपैयाँ, पक्की घर एकतलाको १५० रुपैयाँ, दुई तलेको २२० रुपैयाँ, तीन तलेको ३०० रुपैयाँ, चार तले भएमा ४५० रुपैयाँ र चार तलाभन्दा माथि भएमा ६०० रुपैयाँका दरले घरधुरी कर उठाउने गरिएको बताए ।

उनले अन्य नगरपालिकाले एकीकृत सम्पति कर र सम्पति कर लगाए पनि अर्जुनधारा नगरपालिकाले भने मालपोत र घरधुरी कर मात्र लगाएको बताए । मालपोत भने जनताले आआफ्नै वडामा तिर्ने गरेका छन् ।

स्वयंसेविकाहरु गाउँका कुना कुनासम्म पुगिरहेका र सबैसँग परिचित हुने हुँदा उनीहरुलाई दैनिक १ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेर काममा लगाइएको सूचना अधिकृत आचार्यले बताए । विसं. २०६८ सालको जनगणना अनुसार ६० हजार २०४ जनसंख्या अर्थात हाल ७० हजारभन्दा बढी जनसंख्या र १३ हजार १३६ घरधुरी रहेको नगरपालिकाले स्वयंसेविकालाई नगदी रसिदसहित गाउँ पठाएको छ ।

वडा नम्बर ६ मा खटिएकी तुलसा कुँवरले दैनिक ४५ घर परिवारकोमा पुगेर अनिवार्य घरधुरी कर उठाउन नगरले नियम बनाएको बताइन् । उनले सोही नियमअनुसार नै घरमूली भेटिने समय पारेर आफूहरुले काम गरिरहेको बताइन् । उनले जसको नाममा घर जग्गा उसकैको नाममा रसिद काट्ने गरेको जानकारी दिइन् ।

कुँवरले पहिलोपटक घर पुग्दा घर मालिक नभेटिए दोस्रोपटक पुनः जाने गरेको बताइन् । उनले भनिन्, ‘हामीलाई सबैले चिन्नुभएको हुन्छ धेरैजसोले घर पुग्ने वित्तिकै दिइहाल्नुहुन्छ र एकाधले चाहिँ नगरपालिकामा आफैं गएर बुझाउँछौं भनेर अटेर पनि गर्छन् ।’

उनले घरधुरी कर उठाएसँगै जनतालाई पसल व्यवसाय दर्ता नविकरण गर्न, मालपोत तिर्न र घरजग्गा बहाल कर बेलैमा तिर्न समेत सम्झाउने गरेको बताइन् । सूचना अधिकृत आचार्यले गतबर्ष घरधुरी कर वापत रु। १४ लाख ५० हजार बढी रकम संकलन गरेको बताइन् ।

चालू आर्थिक बर्षको असार १५ भित्रमा घरधुरी कर उठाइसक्ने नगरको लक्ष्य छ । वडा नम्बर १, २ लाई ३० घर, ३, ४, ५, ७, ८ र ९ नम्बर वडाकालाई ४० घर र ६ लाई ४५ घर र बजार क्षेत्रमा रहेका १० र ११ नम्बर वडाकालाई दैनिक ५५ घरको घरघुरी कर उठाउन लगाइएको उनको भनाई छ ।

नगरबासी कोही पनि घरधुरी कर बुझाउन नछुटुन् र घरमै सेवा दिने उद्देश्यले जनप्रतिनिधि निर्वाचित भएर आएसँगै आफूहरुले यो काम थालेको नगरकी उपप्रमुख कमला आचार्यले बताइन् । उनले जनताको घर घर पुगेका स्वयंसेविकाले उनीहरुको समस्याबारे समेत जानकारी लिने र कर तिर्न छुटेकाको समेत सम्पूर्ण विवरण ल्याउन निर्देशन दिएको जानकारी दिए ।

उपप्रमुख आचार्यले झापाका १५ स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिकाले मात्र जनताको घरदैलोमा पुगेर घरधुरी कर उठाउने गरेको दाबी गरिन् । यसअघि नगरपालिकाले अब बन्ने सबै घरमा अग्नि नियन्त्रक उपकरण अनिवार्य जडान गरिनु पर्ने नियम बनाएर चर्चामा आएको छ ।