झापा । चोरी निकासी बाटो प्रयोग गरेर नेपाल भित्राइएको ठुलो परिणामको माछाका भुरा लोड गरिएको बोलेरो जिपसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको कादोगाउँ नाकाबाट भन्सार छलेर कचनकवल ४ स्थित केचना नाकाबाट नेपाल भित्राइएको पंगास जातका ५० हजार माछा भुरा लोड गरिएको बिआर ११ एच २७०६ नम्बरको भारतीय बोलेरो जिप नियन्त्रणमा लिएको हो । बरामद गरिएको ३५ कार्टुन माछा भुराको नेपाली बजार मूल्य तीन लाख रहेको जनाइएको छ ।
सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कचनकवलबाट खटिएका संयुक्त गस्ती टोलीले सोमबार बिहान माछाको भुरासहित जिप नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालले जानकारी दिए ।
साथै जिपमा माछाका भुरा लिएर नेपाल आएका भारतीय कारोबारी विहार फार्वेसगञ्ज, अररिया बस्ने ३६ वर्षीय अमोदकुमार झालाई समेत नियन्त्रणमा लिएका उनले बताए । पशु क्वारेन्टाइन चेकजाँच बिना पशुपक्षी नेपाल भित्राउन नपाउने कानुन विपरीत माछाका भुरा लिएर आएको भारतीय जिपलाई भद्रपुर भन्सार कार्यालय आवश्यक कारबाहीका लागि बुझाइसकेको जनाइएको छ ।
यता बरामद गरिएको माछाको भुरा र कारोबारी झालाई पशु क्वारेन्टाइन चेकपोस्ट भद्रपुरमा बुझाएको उनले बताए । माछाको भुरालाई सरोकारवाला निकायको उपस्थितिमा क्वारेन्टाइनकै चेकपोस्टमा नष्ट गरिएको जनाइएको छ । यता नियन्त्रणमा लिएका झालाई प्रहरी कार्यालय झापा पठाइसकेको पशु क्वारेन्टाइन चेकपोष्ट भद्रपुरका डा. रमेश घिमिरेले जानकारी दिए । प्रहरीले बरामद गरिएको पंगास जातका माछा भुरा नेपालमा प्रतिबन्धित रहेको छ ।
‘नेपालमा माछाको भुरा कारोबार गर्दा पशु सेवा विभागबाट स्वीकृत लिएर क्वारेन्टाइन चेकपोष्ट भएको नाकाबाट मात्र गर्न पाइन्छ’, उनले भने, ‘कचनकवलमा हाम्रो चेकपोष्ट नभएको र त्यसमाथि प्रतिबन्धित भुरा नेपाल ल्याएकोले कारोबारी झालाई कानुन बमोजिम कारबाही हुन्छ ।’
उनका अनुसार पशु स्वास्थ्य सेवा ऐन २०५१ र पशु सेवा स्वास्थ्य नियमावली २०५६ अनुसार पक्राउ परेका व्यक्तिसँग कुनै कानुनी कागजात नरहेकोले जिल्ला प्रशासन कार्यालय झापामार्फत मुद्दा चल्ने उनले बताए ।