हिमाल खरेल,
बिर्तामोड । सहरीकरण र जनघनत्वका दृष्टिले बिर्तामोड प्रदेश १ को ठूलोमध्येको सहर हो । झापाका अन्य सहरभन्दा ढिलोगरी नगरपालिका बनेको बिर्तामोडमा विगत पाँच वर्षयता सवारी पार्किङ टाउको दुखाइ बन्दै आएको छ ।
पूर्वको प्रमुख व्यापारिक केन्द्र मानिएको बिर्तामोडमा सवारी पार्किङ व्यवस्थित बनाउने योजना नगरपालिका बनेको तीन वर्षसम्म पनि अघि बढेको छैन । निश्चित स्थानमा पार्किङ गर्ने व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । अव्यस्थित सवारी चापका कारण दुर्घटनाको सम्भावना पनि उत्तिकै हुने गर्छ । मुक्तिचोक आसपासका क्षेत्रमा पार्किङ निषेध गरिएको छ । तर, पार्किङ गर्ने ठाउँ नहुँदा सडक किनारामै सवारी रोकेर राख्नु पर्ने बाध्यता सवारी चालकलाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक व्यवस्थापनका लागि संघीय सरकारमा बजेट विनियोजन गर्न माग गरेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए । दुई वर्षअघि बिर्तामोडको ट्राफिक व्यवस्थापन गर्न सवारी पार्किङ ठेक्का लगाउने प्रक्रिया अघि बढाइए पनि स्थानीय व्यापारीको अवरोधका कारण कार्यान्वयनमा आउन सकेन । मुक्तिचोक आसपासको कम्तिमा तीन सय मिटर क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा दुर्घटना बढ्नुका साथै सहर अस्तव्यस्त बन्दै आएको छ ।
ट्राफिक प्रमुख अधिकारीका अनुसार बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको परामर्शमा मुक्तिचोक आसपासमा ओभरहेड पार्किङका लागि विस्तृत अध्ययनका लागि बजेट माग गरिएको हो । यसका लागि नगरपालिकाले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ । नगरप्रमुख शिवाकोटीले कार्यपालिकामा छलफल गरेर आगामी बजेटमा पार्किङ व्यवस्थापनका लागि कार्यक्रम बनाइने बताएका छन् ।
यसअघि नगरपालिकाले अस्थायी रुपमा सवारी पार्किङको एरिया तोकेको थियो । उत्तरमा शनिश्चरे ट्याक्सी स्टेन्ड, दक्षिणमा भद्रपुर बस स्टेन्ड, पूर्वमा पुरानो इलाम स्टेन्ड र पश्चिममा अदुवा खोलाछेउमा मात्र पार्किङ गर्न पाइने क्षेत्र तोकिएको थियो । पार्किङ गर्ने ठाउँ नहुँदा सवारी व्यवस्थापन गर्न समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ ।
बिर्तामोड नगरपालिकाले भने सवारी पार्किङ व्यवस्थापन गर्ने जग्गा नभेटेको बताइएको छ । जग्गाको खोजी गरी सवारी व्यवस्थापन गर्ने सोच भइरहेको नगरपालिकाका नायव सुब्बा मेघराज बास्तोलाले बताए । ‘नगरपालिका सवारी पार्किङ व्यवस्थापनमा गम्भीर छ’, उनले भने, ‘यही विषयमा सरोकारवाला निकायसँग छलफल भइरहको छ ।’
ट्राफिक कार्यालयले मुक्तिचोक आसपासका क्षेत्रमा पार्किङ निषेध गरेको छ । तर, अहिले पार्किङ गर्ने ठाउँ नहुँदा सडक किनारमै सवारी रोकेर राख्नु पर्ने बाध्यता चालकलाई छ ।
बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न जनशक्ति अभावमा पनि ट्राफिक प्रहरीले काम गरिरहेको अधिकारीले बताए । पछिल्लो समय बढ्दो अटो (टेयाम्पो) र सिटी सफारीका कारण पनि बिर्तामोडको ट्राफिक व्यवस्थापन गर्न समस्या भएको हो । बिर्तामोड क्षेत्रमा मात्र दुई हजारभन्दा बडी तीनचक्के सवारी सञ्चालित छन् ।
पटकपटक प्रतिबद्धता
झापाको बिर्तामोडलाई व्यवस्थित गर्न राजनीतिक दल तथा अगुवाहरुले पटकपटक प्रतिबद्धता दोहो¥याउने गरेका छन् । अघिल्लो वर्ष भएको एक छलफलमा पनि उनीहरुले प्रतिबद्धता जनाए तर व्यवहारमा उतार्ने बेला पछि सरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अग्रसरतामा बिर्तामोडलाई व्यवस्थित गर्न आयोजना गरेको छलफलमा बिर्तामोडस्थित पूर्वमा सुगम पेट्रोल पम्पदेखि पश्चिम अञ्जली अस्पतालसम्मको ८२ फिट सडकको एरिया तत्काल खाली गरेर सवारी आवागमन तथा फुटपाथ व्यवस्थापनलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।
पार्किङको अर्को समस्या फुटपाथ व्यवस्थापन पनि मुख्य चुनौती बनेको छ । बिर्तामोड नगरपालिकाले यो विषयमा चासो नदिएको स्थानीयको आरोप छ । सबै एकजुट भए मात्र बिर्तामोडको फुटपाथ व्यवस्थापन, सवारी पार्किङ लगायतका काम गर्न सकिने ट्राफिक प्रहरीको भनाइ छ ।
बिर्तामोडमा अत्याधुनिक सुविधा सम्पन्न भवन बनाए पनि पार्किङको व्यवस्था नगर्दा सवारी व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । हनुमान सेन्ट्रलले नगर विकास समितिमा नक्सा पास गर्दा भुइँ तलामा पार्किङ गर्ने उल्लेख गरिए पनि सडक किनारसम्म सवारी राखिने हँुदा सवारी व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, बिर्तामोडका अन्य सबै स्थानमा जथाभावी रुपमा सवारी पार्किङ गरिने गरेकाले बिर्तामोडको पार्किङ व्यवस्था अस्तव्यस्त रहेको छ ।