ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका ६ लेलेपका दिलकुमार लिम्बुलाई यतिबेला आगामी हिउँदका लागि खाद्यान्न कसरी जोहो गर्ने भन्ने चिन्ता छ । अलिकति पाखोबारीमा लगाएको मकै असिनाले सखाप पारेपछि लिम्बुको परिवारमा थप पिडा थपिएको हो ।

सोहि गाउँका प्रतिमान लिम्बु धमाधम बारी जोत्दै छन् । अन्य गाउँका स्थानीय मकै दोहो¥याउन व्यस्त हुँदा प्रतिमान भने बिउ सापट मागेरै मकै रोपिरहेका छन् ।

साविकको लेलेप गाविस वडा नं १ का १ सय ४५ घरको पिडा र दैनिकी दिलकुमार र प्रतिमानको जस्तै छ । गत बैसाख २८ गते परेको असिना पानीले बतासे, आहाले, साँघु, कम्फिलाङ, ढाडेनी, सिस्ने र फन्द्रुवा गाउँका कृषकले लगाएको मकै, आलुसहितको बालीनाली नष्ट पारेको हो । घरदैलोको स्थानीय सरकार भने कुनै सहयोग गर्न नसक्ने भन्दै पन्छिएको स्थानीयको दुःखेसो छ । गाउँपालिकाले हालसम्म कति क्षति भयो भनेर विवरण समेत संकलन गरेको छैन ।

असिनाले २४ वटा घरमा क्षति पुगेको विवरण संकलन गरिएको प्रहरी चौकी तापेथोकका प्रमुख असई केशवराज मैनालीले बताए । ‘हामीले घरको छाना उडाएको, प्वाल पारेको मात्रै संकलन ग¥यौं, बालीनाली सबैको नष्ट गरेको छ’, मैनालीले भने । भिरालो पाखो भौगोलिक बनावट भएको यो क्षेत्रमा मकै र आलु बाहेक केहि उत्पादन हुँदैन । मकै र आलुले ४ महिना खान पुग्छ । बाँकी ६ महिना भारी बोक्ने, निर्माणका काम जस्ता ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नुपर्छ ।

‘अधिकांशको आम्दानी वार्षिक १० हजार भन्दा धेरै नहुने दिलकुमार भन्छन्, ‘गएको हिउँदमा जोहो गरेको अन्नले भदौ असोजसम्म दुःखले धान्छ होला, त्यसपछि समस्या हुने भयो ।’

उक्त समयमा ज्याला मजदुरीको काम पनि नपाइने भएकाले अन्य आम्दानीको स्रोत नभएको उनको भनाई छ । अहिले गाउँमा तरकारी र पशु चौपायालाई घाँसको अभाव रहेको चन्द्रमणी लिम्बुले बताए । ‘एकैछिनको असिनाले दोहो¥याउने बेला भएको मकै र खन्ने बेला हुन लागेको आलु लग्यो’, उनले भने, ‘यहाँ पनि बाली थियो र ? जस्तो बनाइदियो ।’

असिनाले गाउँनै उजाड बनाएको पूर्ण लिम्बुले सुनाए । ‘बाली नाली मात्रै होइन, रुख विरुवालाई समेत कुटेर सिक्रो बनायो, मेरो घरको छानो नै प्वाल पारेर उडाइदियो’, उनले भने, ‘अहिले पालमुनी बसिरहेका छौं ।’ ६० घरले पुःन जोतेर मकै छरेका छन् भने अन्यले बाँझै छोडेका छन् । उनिहरुले जोतेर साउनमा कोदो रोप्ने स्थानीय दिपक लिम्बुले बताए ।

गाउँपालिका उपाध्यक्ष फुलमाया लिम्बुका अनुसार असिनाले रुखको बोक्रा समेत उप्काएको छ । ‘योजना अनुगमन गर्ने क्रममा उक्त गाउँमा पुगेकी थिएँ’, उपाध्यक्ष लिम्बुले भनिन्, ‘बाढी पहिरो गए जस्तै उजाड र विरक्त चल्ने छ ।’

क्षतिको बारेमा गाउँपालिकामा खबर गर्दा चासो नदिएको स्थानीय प्रतिमान लिम्बुको गुनासो छ । ‘यो गाउँमा बस्ने हामी सबै विपन्न र पहुँच कम भएका छौं’, उनले भने, ‘वडाध्यक्ष ज्यूलाई पनि भन्यौं, उहाँले मानविय क्षति भएको भए राहत दिन मिल्थ्यो, यस्तोमा मिल्दैन भन्नुभयो ।’ सिजन बितेपनि घाँसकै लागि बिउ खोजेर फेरी मकै रोपेको उनले बताए ।

गाउँपालिका अध्यक्ष सरोज लिम्बुले तत्काल राहत दिने आफुहरुसँग कुनै कोष नरहेको बताए । ‘विपद्बाट भएको क्षतिमा राहत दिने कोष छैन’, लिम्बुले भने, ‘उहाँहरु ठूलै समस्यामा पर्नुभएकोले यहि जेठ २४ गतेको कार्यपालिकाको बैठकमा कुरा राख्छु ।’

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको वडा कार्य समितिको टोलीले पिडितलाई मंगलबार राहत वितरण गर्ने जनाएको छ । सुभेच्छुकहरुबाट संकलित २ लाख २० हजार रुपैयाँको चामल र जस्तापाता प्रदान गरिने कांग्रेस महासमिति सदस्य तथा तेञ्जिङ वालुङले बताए ।

‘घर क्षति भएको पूर्ण लिम्बुलाई जस्तापाता र अन्य सबैलाई प्रतिपरिवार एक बोरा जुनेली चामल सहयोग गर्न लागेका हौं’, वालुङले भने । पिडितको पिडामा मल्हम लगाउने प्रयासस्वरुप व्यक्तिगत रुपमा संकलन गरेर थोरै भए पनि सहयोग जुटाएको कांग्रेस वडा सभापति पेम्बाटाँसी शेर्पाले बताए ।

यस वर्ष ताप्लेजुङमा विगतको भन्दा धेरै असिना परेको स्थानीयहरुले बताएका छन् । मिक्वाखोलाको सँवा, सिदिङ्वाको कालिखोला, पाथीभरा याङ्वरकको चाक्सिबोटे लगायतका स्थानमा पनि असिनाले क्षति गरेको गाउँपालिकाका कृषि शाखाहरुले जानकारी दिए ।