भद्रपुर । झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको बिरामी फेला परेको छ । ज्वरो आएपछि उपचार गर्न भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुगेका भद्रपुर-२ ज्ञानेचोकका ४० वर्षीय पुरुषलाई डेंगु देखा परेको हो ।
केही दिनदेखि ज्वरो आएर उपचारका लागि आएका पुरुषमा गरिएको परीक्षणमा डेंगु रोग पुष्टि भएको मेची अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट पीताम्बर ठाकुरले बताए । रगतमा ९५ प्लेटेट देखिएकोमा बुधबार बिहानसम्म एक लाखभन्दा माथि कटेको ठाकुरले बताए । बिरामीको उपचार भइरहेको ठाकुरको भनाइ छ ।
स्वास्थ्य कार्यालय झापा भने यस विषयमा बेखबर छ । कार्यालय प्रमुख मधुसूदन कोइराला र भेक्टोर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेलाइ यो विषयमा आफूलाई थाहा नभएको बताए । स्वास्थ्यको ल्याबमा नआएको र मेडिकल अधिकृत मनोजकुमार पोखरेलले पनि मेची अञ्चल अस्पतालमा नभएको जानकारी दिएको भेक्टोर कन्ट्रोल अधिकृत घिमिरेले बताए ।
कुनै निजी क्लिनिकमा उपचार भएको भए यो विषयमा जानकारी नहुने उनको भनाइ छ । बिरामीको रेकर्ड आएपछि मात्र जानकारी हुने उनले जनाए ।
धरानमा पनि डेंगुका बिमारी फेला परेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा उपचार गराउने १३ जना गरी ७५ जना फेला परेको बताइएको छ ।
यस पश्चात धरान उपमहानगरपालिका र बीपी प्रतिष्ठानले बनाएको संयुक्त रयापिड रेस्पोन्स टिमले प्रत्येक घरमा पुगेर निरीक्षण गर्दा डेंगु संक्रमित लामखुट्टेको अण्डा र लार्भा अत्यधिक पाइएको जनाएको छ । धरानमा डेंगु नियन्त्रणभन्दा बाहिर रहेको रेस्पोन्स टिमका संयोजक डा। विजयकुमार खनालले बताए ।