धनगढी । बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा दुई जनाको मृत्यु भएको छ भने ७५ जनाभन्दा बढी घाइते छन् । ठूलो मात्रामा भौतिक क्षति भएको छ ।
टीकापुर र गोदावरी नगरपालिमा एक-एक जनाको मृत्यु भएको हो । टीकापुर-२ मा पर्खाल भत्किएर लाहनु डगौंराको मृृत्यु भएको छ । गोदावरी-८ का वीरवहादुर चौधरीको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो । पूर्वतिरबाट आइरहेको बा. ३ प ३८३६ नम्बरको टिपरले से. १ प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीको ढुंगे बजारमा गुडिरहेको हायसमाथि रुख लडेर च्यापिएको अवस्थामा राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा घाइते बाहेक अन्य क्षति नभएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार हावाहुरीकै कारण जिल्लाका विभिन्न स्थानमा ७५ जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।
हुरीले धेरैजसो घरहरुमा छाना उडाएको छ । धनगढीको पुरानो एयरपोर्ट नजिकै रहेको मुक्त कमैया शिविरका सबै घरका छाना उडाएको छ । पोलहरु ढलेकाले विद्युत सेवा पूर्णरुपमा अवरुद्ध छ ।
जताततै रुखहरु भाँचिएका छन् । कतिपय स्थानमा सडक अवरुद्ध छ । करिब एक घण्टासम्म चलेको हावाहुरीले रातभर स्थानीय बासिन्दाको बिचल्ली भएको थियो । हुरीले छाना उडाएको र मुसलधारे वर्षा पनि भएपछि पीडितहरुको झन् बिजोग भएको आजको कान्तिपुरमा समाचार छ ।