झापा । ‘डाटा इन्ट्री सिस्टम’ मा आएको परिवर्तनको कारण देखाउँदै भारतको पश्चिम बंगालमा भारतले ७० वटा नेपाली ट्यांकर रोकेको छ। जसका कारण मेची अञ्चलको इन्धन आपूर्ति अस्तव्यस्त भएको छ।

यस अघि सम्म हातले हुने डाटा इन्ट्रीलाई कम्प्युटराइज्ड गरेका कारण ट्यांकर छुट्न ढिला हुने गरेको भारतीय आयल कर्पोरेशनले भन्ने गरेको पेट्रोलियम व्यवसायीको भनाई छ। नेपाल आयल निगम चारआली कार्यालयका अनुसार ५० वटा नेपाली ट्यांकर पालो पर्खिरहे भने थप २० वटा ट्यांकर पनि भरेर आउने क्रममा छन्।

पेट्रोलियम डिलर्श एशोसिएसन, मेचीका अनुसार दुई सातायता मेची अञ्चलमा इन्धनको बजार अस्थिर भई रहेको छ। बेला बेला आउने ट्यांकरले माग धान्न नसकेको संघले जनाएको छ। संघका मेची उपाध्यक्ष भुपाल कटुवालका अनुसार निगमले मेचीलाई मासिक ७ हजार ५०० किलोलिटर डिजेल र २ हजार ५०० किलोलिटर पेट्रोलको कोटा छुट्याएको छ। तर यो कोटाले नियमन आपूर्ति भएको बेला समेत माग नधानेर बिराटनगरबाट ल्याएर आपूर्ति गर्ने गरेको उनले बताएका छन्।

पश्चिम बंगालबाट ट्यांकर नभित्रिए पनि जिल्लाको पश्चिमी क्षेत्र दमक, गौरादह लगायतका क्षेत्रमा भने बिराटनगरबाट ल्याएर पनि आपूर्ति गर्ने गरिएको उनले जनाए। यस अघि झापाको चारआली डिपोबाट मेची अञ्चलका लागि इन्धन आपूर्ति हुने गरेको थियो।

झापाको पूर्वी क्षेत्रका पेट्रोल पम्पहरुलाई भने बिराटनगरबाट ल्याएर बिक्री गर्दा ढुवानी खर्च बढी हुने भएकाले सहज देखिदैन। तर झापाको पश्चिमी क्षेत्रका केही व्यवसायीहरुले भने अभाव हुन नदिन बिराटनगरबाट समेत ल्याएर दिइरहेको उनको भनाई छ।

कटुवालका अनुसार यहाँका ५२ ओटा पेट्रोल पम्पमार्फत वितरण हुने डिजेल तथा पेट्रोलको आपूर्ति व्यवस्थापन सहज बनाउन दिगो समाधान खोजिन आवश्यक छ। आवश्यक परे कूटनीतिक पहल गरेर भए पनि भारतमा हुने कुनै पनि परिवर्तनको प्रभाव नेपाली इन्धन आपूर्तिमा पार्न नहुने व्यवस्था मिलाउन उनको जोड छ।

नेपाल आयल निगम चारआली कार्यालयका अनुसार मेची अञ्चलमा देखिएको इन्धन आपूर्तिको समस्या समाधानका लागि भारतीय पक्षसँग समेत छलफल भएको छ।

निगमका चारआली कार्यालय प्रमुख सनम कार्कीले भारतीय आयल कर्पोरेशनका प्रतिनिधिसँग आपूर्ति सहज बनाउने बारेमा छलफल भएको जनाएका हुन्। इन्ट्री सिस्टमलाई सहज बनाएसँगै बजारमा देखिएको समस्या पनि समाधान हुने आवश्वासन पाएको उनको भनाई छ।