उर्लाबारी । मोरङको उर्लाबारीस्थित मावा खोलाको पुलमुनि गत चैत २५ गते शिशुलाई बेवारिसे छोड्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उर्लाबारी नपा-५ हाटखोलाको शुक्रबारे बजारमा शुक्रबार पक्राउ गरेको हो । बेवारिसे अवस्थामा भेटिएको शिशुलाई तत्काल ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्व टोलीले उद्दार गरी गोदावारी हस्पिटल उर्लाबारीमा उपचारार्थ पठाएको थियो ।

बच्चाको आमा खोजतलास गर्दै जाने क्रममा ईलाम जिल्लाको माङसेबुङ-६ स्थायी घर भई मोरङ उर्लाबारी ६ पानीटंकीस्थित अमृत तामाङको घरमा डेरा गरी बस्ने ३० बर्षीया माया राई भन्ने थाहा पाएपछि प्रहरीले खोजतलास गर्दा उनी फेला परेकी थिइन् । नवजात शिशुलाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएपछि माया राई नोबेल अस्पतालमा आफैँ उपस्थित भएको बताइएको छ ।

तर, नवजात शिशुको चैत २८ गते उपचारको क्रममा मृत्यु भएपछि अस्पताल परिसरबाट मृतक नवजात शिशुको आमा राई फरार रहेकी थिइन् । वैशाख २ गते उर्लाबारी प्रहरीले मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम मुद्धा दर्ता गरी जिल्ला अदालत मोरङबाट माया राईलाई पक्राउ अनुमति लिएर खोजी कार्य तीब्र पारेको थियो ।

खोजतलासको क्रममा झापा दमक–७, रतुवाखोला किनारामा रहेको सुकुम्बासी टोलस्थित एक घरमा डेरा गरी बसोबास गर्दै आईरहेको भन्ने सूचनाको आधारमा निगरानी गर्दै जाँदा उक्त स्थान छाडी ती महिला उर्लाबारी नपा–५ हाटखोलाको शुक्रबारे बजार पुगेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मायाको २०७५ असारमा काठमाडौँमा भेट भएका एक ब्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।