राजगढ, झापा । मलीन अनुहार लिएर राजगढ बजार आइपुगेकी बाह्रदशीस्थित चकचकीकी देवन्ती राजवंशी फर्केर जाँदा दङ्ग परिन् । तल्लो पेट दुख्ने समस्याले ग्रसित २९ वर्षीया राजवंशी शुक्रबार सहारा नेपालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा विज्ञ चिकित्सकको परामर्शपछि खुसी छिन् ।
‘भारी काम गरेपछि सहनै नसक्नेगरी मेरो तल्लो पेट दुख्छ’, तीन सन्तानलाई जन्म दिएकी देवन्तीले आफ्नो समस्या खुलाइन्, ‘सहाराले राम्रो डक्टर ल्याउने सुनेपछि यहाँ आएकी हुँ ।’ दवन्तीजस्तै समस्या भोग्दै आएकी घेराबरीकी इन्द्रावती राजवंशी पनि शिविरबाट आफूले लाभ लिएको बताउँछिन् । महिनावारी रोकिए पनि ५० वर्षीया इन्द्रावतीको तल्लो पेट दुखिरहन्छ ।
रोग लुकाएर बसेका गाउँदेहातका महिलालाई पाठेघर र प्रजनन सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहाराले गत हप्ताबाट एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सेवा लिन आएका प्रभावित महिलालाई प्राध्यापक डाक्टर गेहनाथ बराल नेतृत्व टोलीले परामर्श र स्वास्थ्य–सुरक्षा विधिबारे सल्लाह दिइरहेको छ । शिविरमा आएका महिलालाई प्राडा बराल खासगरी पाठेघरको संक्रमण कसरी रोक्न सकिन्छ भनेर सजग गराइरहेका हुन्छन् ।
एक साताअघि शिवगञ्जमा २७६ जना विवाहित महिलाको स्वास्थ्य परीक्षण गरेपछि हाल बिएन्डसी टिचिङ हस्पिटलमा कार्यरत बरालले महिलामा सेतोपानी बग्ने साझा समस्या रहेको निष्कर्ष निकालेका छन् । शिवगञ्जको शिविरमा २९ जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, ५० जनामा आङ खस्ने समस्या र १५० जनामा यौनरोग फेला परेको थियो ।
बाह्रदशीका महिलामा पनि यस्तै समस्या रहेको पाइएको छ । त्यस्तै, पाठेघर झर्ने, समयमा महिनावारी नहुने, पाठेघरको मुखमा घाउ, मासु पलाउनेजस्ता प्रजननसम्बन्धी रोगबाट महिलाहरु पीडित रहेको बरालले बताए । ग्रामीण भेगका महिलामा सरसफाइसम्बन्धी ज्ञान र सचेतना नभएको, सुरक्षित यौन सम्बन्ध नभएको तथा भाइरलका कारण पनि पाठेघरको समस्या देखिँदै आएको बरालको भनाइ छ ।
सहारा नेपालको जीवन बरदान कार्यक्रमअन्तर्गत झापाका ग्रामीण क्षेत्रमा शिविर सञ्चालन भइरहेको छ । आफ्ना सदस्य र लघुवित्त समुदायलाई लक्षित गर्दै सहाराले समस्याका रुपमा रहेको पाठेघर रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यक्रम संयोजक भक्त खड्काले जानकारी दिए । एक स्थानको स्वास्थ्य शिविरमा सहाराले एक लाख रुपैयाँको हाराहारीमा खर्च गर्दै आएको छ ।
राजगढ बजारमा सञ्चालन गरिएको शिविरबाट २७६ जना महिलाले लाभ लिएका छन् । राजगढको शिविरमा १० जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, २२ जनामा आङ खस्ने समस्या र १०१ जनामा यौनरोग फेला परेको थियो । बिएन्डसी अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा भइरहेको शिविरमा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाले परामर्श लिएको खड्का जानकारी दिए । रोगको जटिलता हेरेर सहाराले प्राथमिकतामा राखेर पीडित महिलाहरुको उपचार पनि निःशुल्क गर्ने योजना बनाएको छ ।
स्वास्थ्य शिविर सुरु हुनुअघि बाह्रदशी ३ का वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सहाराको स्वास्थ्य समिति संयोजक नरेन्द्र बराल, राजगढ सेवा केन्द्र प्रमुख एकादेव खड्का, बिएन्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीलगायतको उपस्थिति रहेको थियो ।