झापा । विगतको साख जोगाउँदै जातीय विकासका लागि एकताबद्ध भएर अघि बढ्ने झापा जिल्लामा निर्वाचित राजवंशी जनप्रतिनिधिहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले भविष्यबारे चिन्ता व्यक्त गर्दै संगठित हुनैपर्नेमा जोड दिएका छन् ।

राजवंशी जातिको निर्वाचित जनप्रतिनिधिहरुको पहिलो पटक शनिबार कनकाई नगरपालिका ९ घैलाडुब्बामा भएको भेलाले जातीय हकहितको लागि एकआपसमा समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । प्रदेश सभामा निर्वाचित झापाका एक मात्र राजवंशी जनप्रतिनिधि पूर्णसिंह राजवंशीले पुरातन सोच बदल्न सकेमात्र परिवर्तन हुने बताए ।

उनले एकताबद्ध हुँदै लक्ष्य निर्धारण गर्न सके जातीय विकासमा सहयोग पुग्ने धारणा राखे । उनले भने, ‘राजवंशी रातिको विकासका लागि योजना, नीति र भिजनसहित अगाडि बढ्नुपर्छ ।’

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले आफूहरुको राजनीतिक अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे । उनले २० बर्ष अघिको राजवंशीहरुको राजनीतिक अवस्थालाई स्मरण गर्दै भने, ‘अहिले यो दुरावस्था छ । अबको २० बर्ष पछि झन के हुन्छ होला ?’

उनले भविष्यमा राजवंशीले टिकटनै पाउन गाह्रो पर्ने अवस्था आउन सक्ने आशंका व्यक्त गरे । बाह्रदशीकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले जातीय विकासका लागि राजवंशी जनप्रतिनिधिबीच कुनै विवाद भए समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको बताइन । उनले पार्टीगत रुपमा फरक भए पनि जातीय रुपमा एक हुनुपर्ने बताइन ।

कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले भूमिपुत्र राजवंशीहरुको संरक्षण र संवद्र्धनका लागि झापाका हरेक स्थानीय तहले अनिवार्य बजेट विनियोजन गर्नुपर्ने माग गरिन । उनले स्थानीय तहमा जातीय विकासका लागि राजवंशी जातिले ठोस पहल गर्नुपर्ने बताइन ।

भेलामा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल र हल्दिबारी गाउँपालिका तथा भद्रपुर, मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकामा निर्वाचित ५० जना राजवंशी जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जिल्लामा कमल र बुद्धशान्ति गाउँपालिका तथा दमक र अर्जुनधारा नगरपालिकामा राजवंशी जनप्रनितिधि रहेका छैनन् ।

झापाका ७ सय २३ जना जनप्रतिनिधिमा राजवंशी जातिका ५० जना जनप्रतिनिधि छन् । जसमा एक अध्यक्ष, दुई उपाध्यक्ष, १२ जना वडाध्यक्ष, २९ जना वडा सदस्यमा निर्वाचित भएका थिए भने ५ जना मनोनित भएका थिए ।

भेलाले राजवंशी जनप्रतिनिधिहरुको जिल्ला सञ्जाल गठन गरेको छ । बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीको अध्यक्षतामा २५ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जाको उपाध्यक्षमा जिल्ला समन्वय समितिका सदस्य महिशलाल राजवंशी, सचिवमा कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी, सहसचिवमा गौरीगञ्ज गाउँपालिका १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी र कोषाध्यक्षमा कनकाई नगरपालिका ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी रहेका छन् ।

सदस्यहरुमा बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशी, ३ नम्बर वडाध्यक्ष बीरेन्द्र राजवंशी, भद्रपुर नगरपालिका ४ का वडाध्यक्ष हंशधर राजवंशी, ९ नम्बरका वडाध्यक्ष शनिलाल राजवंशी, हल्दिबारी गाउँपालिका २ का वडा सदस्यहरु खकेन राजवंशी र सुकलाल राजवंशी, झापा गाउँपालिका ५ का वडाध्यक्ष दिनेशप्रसाद राजवंशी, वडा सदस्य विजयप्रसाद राजवंशी, कचनकवल गाउँपालिका ३ का वडाध्यक्ष विजय राजवंशी, ७ नम्बर वडाध्यक्ष भरत राजवंशी, कनकाई नगरपालिकाका कार्यपालिका सदस्य चुवालाल राजवंशी, गौरीगञ्ज २ का अघनुप्रसाद राजवंशी, बिर्तामोड नगरपालिका ३ का वडा सदस्य पूर्ण राजवंशी, वडा नम्बर ९ का वडा सदस्य दिलकुमारी राजवंशी, कार्यपालिका सदस्य सुरेन राजवंशी, गौरादह नगरपालिकाका कार्यपालिका सदस्यहरु जलबर्षा राजवंशी र पक्टुलाल राजवंशी, मेचीनगर नगरपालिकाका १३ नम्बर वडा सदस्य ऋषि राजवंशी, १५ नम्बर वडा सदस्य बृखलाल राजवंशी र शिवसताक्षी नगरपालिका ५ का वडाध्यक्ष सत्यनारायण राजवंशी रहेका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सहसंयोजकमा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी तथा सदस्यहरुमा पत्रकारहरु इन्द्रसिंह राजवंशी, अर्जुन राजवंशी र पवन राजवंशी रहेका छन् । त्यस्तै सञ्जालका पदाधिकारी र सल्लाहकार समितिका संयोजक र सहसंयोजक रहेको ७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।

कार्यक्रम कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रले आयोजना गरेको थियो । केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथि पत्रकार इन्द्रसिंह राजवंशीले प्रकाश पारेका थिए । स्वागत मन्तव्य केन्द्रका सचिव जयप्रसाद राजवंशीले गरेको कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन राजवंशीले गरेका थिए ।