पाँचथर । सडकै छेउमा गुदालाबोजोला ताल देखेपछि फोटो खिच्ने मन लागेर आहिहाल्छ । डाँडाले घेरिएको ताल आकर्षकमात्र छैन केही समय घुम्नका लागि पनि मिल्छ । सौखिनहरु घण्टौ बसेर माछालाई खानेकुरा फाल्दै रमाउन पनि सक्छन् । यो ताल पाँचथरको जिल्लाको दक्षिणी मिक्लाजुङ-७ लेखगाँउमा पर्छ ।
त्यसो त लेखगाउँ आफैँमा आर्कषक छ । राँके-भेडेटारमा पर्ने यो बस्ती हेरीरहुँ लाग्नेछ । मिक्लाजुङ पहाडको काखमा रहेको यो बस्ती लेकमा पर्छ । लेकाली डाँडाहरु आसपासमा फैलिएको वस्ती । तिनै डाँडाको बीच भएर अघि बढेको सडक । चिटिक्क परेका घर, सफा र सिनित्त परेका आँगन र फाँट जस्तो ठुला–ठुला गरामा गरिएको खेती । यसले लेखगाँउको सौन्दर्यको जनाउँछ । साना साना पहाडको बीचमा बस्ती छ ।
साना तर चिटिक्क परेका घरहरु छन् । स्थानीय खोलाबाट स्थानीय नै मिहेनतमा पेल्ट्रिकसेटबाट बत्ती बालिएको छ । अहिले यो दुर्गम मानिएको बस्तीमा इन्टरनेटको सुविधा पनि छ । पहाडी बस्तीमाथि होचा होचा डाँडाहरुको संरचना, बीचमा गएको सडक, सडक आसपासमा काठ र जस्ता मिसाएर बनाइएका आकर्षक घर धेरैको मन लोभ्याउने थलो हो । यहाँ पुगेकाले वर्णन गरेका समाग्रि समाजिक सञ्जालमा प्रसस्त भेटिन्छ ।
‘सबैले यहाँको बयान गर्छन्, हामी गाउँलाई थप सुविधा थप्ने प्रयासमा छौँ । चर्चित मिक्लाजुङ पहाडको काखमा रहेको यो ठाउँमा पर्यटक भित्र्याउने सपना छ’, स्थानीय सञ्जय राईले भने, ‘भुगोलले साथ दिएको छ, ताल लगायका सरचना बनाएका छौँ । प्रचारप्रसार र होमस्टेकाको खाचो छ ।’
सदरमुकाम फिदिमदेखि निक्कै टाढा पर्ने उक्त ठाउँ आर्कषक छ । विभिन्न प्राकृतिक संरचना, समाजिक परिस्थिति, खेती प्रणाली तथा ग्रामीण बसोबासको झल्को धेरैले आकर्षक मान्ने गरको छन् । सात वटा टोलमा फैलिएको लेखगाँउका स्थानीय सहयोगी तथा सामान्य किसिमका भएकाले पनि बेला बेला यहाँ भेला भएर रमाईलो गर्नेहरु पनि भेटिन्छ ।
गीत संगीत तथा संस्कृतिप्रतिको प्रेम कुम्भकर्ण, मकालुजस्ता हिमालको दृष्य, गुदालाबोजोला, छत्रे बोजोला जस्ता ताल, फराकिलो खेल मैदान यहाँका विशेषता हुन् । बेलासी यहाँ पाइने विशेष फल हो । वनक्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङगी पाईन्छन् ।
हरेक घरमा पेल्ट्रिक्सेट मार्फत बत्ती पु¥याइएको छ भने खानेपानीको समस्या छैन । समुद्र सतहदेखि दुई हजार २ सय मिटर उचाईमा भए पनि चिसो भने अत्यन्त छ । गर्मीमा केही दिन कटाउन यहाँ जाँदा हुन्छ ।
यस क्षेत्रमा युवाहरुको सक्रियता भएकाले गाउँ शान्त रहेको स्थानीय विराज राई बताउँछन् । कन्याटार, कम्फुटार जस्ता सुन्दर ठाउँले लेखगाउँ घेरिएको छ । साना साना डाँडा, गुम्बा तथा मन्दिर, ठुलो खेलमैदान भएकाले यस क्षेत्रमा पर्यटकसमेत निम्त्याउन सकिने स्थानीयको अनुमान छ ।
परम्परागत शैलीमा काठ तथा माटो कुँदेर बनाइएका घरहरु छन् यहाँ । यिनै घरहरुमा आउने पाहुनालाई आतिथ्यता प्रदान गर्ने गरिन्छ । पर्याप्त पानी भएकाले एकै वार्डका ६ स्थानबाट निकालिएको पेल्ट्रिकसेटबाट गाउँ झिलिमिली छ । यहाँका विब्ल्याटेँ, सुर्केगाँउ, गैरीगाँउ खोलाखर्क, होमेगाँउ, शान्ति टोल तथा भाङ्टारले आफ्नै किसिमका विशेषता बोकेका छन् । यि सबै टोलहरुमा ११६ घरधुरी रहेको छ ।
वन क्षेत्रको नजिकै भएकाले विभिन्न जातका चराचुरुङ्गी आगनमै चरिरहेका देख्न पाईन्छन् । केही दिन मन भुलाउन चाहनेका लागि यो ठाउँ उपयुक्त हुन्छ । दक्षिणी क्षेत्रबाट यहाँ बनभोजका लागि पनि मानिसहरु आउने गरको स्थानीयले बताए । हिउँदमा घरबाट उठ्ने बित्तिकै हिमाल मोतीझैँ टल्किरहेको देख्न पाईने स्थानीय अनिल राई बताउँछन् ।
कला, संस्कृतिमा राम्रो आकर्षण छ । सुर्योदय कलाकेन्द्रमा युवायुवतीहरु हरेक साँझ सिकिरहेका देख्न पाईन्छन् । कोदो, मकै, अलैँची प्रमुख बाली हो भने धेरैले पशुपालन व्यवसाय गरको छन् । गाउँमै डेरी भएर सजिलो भएको छ । अहिले अर्गेलीको संकलनमा स्थानीय व्यस्त छन् । यो हातेकागज बनाउन उपयुक्त छ ।
मिक्लाजुङ पहाड सुर्योदय, हिमाल लगायतको दृष्य, प्राकृतिक सम्पदा र धार्मिक महत्वले महत्पूर्ण छ । यहाँ बर्सेनि आन्तरिक पर्यटक आउँछन् । यसको फेदमा लेखगाउँ छ । बाँस लागयतका काममा समेत यहाँका स्थानीय अब्बल छन् । यहाँ आउने सडक कालोपत्रेका लागि ठेक्का लागेको छ । सडकको स्तरोन्नतीपछि यो ठाउँ पर्यटकहरुको गन्तव्य हुने छिमेकी गाउँका घनश्याम घिमिरको अनुमान छ ।
मेची राजमार्गको राँके हुदैँ यहाँ पुग्न सकिन्छ । धरानबाट भेडेटार, बुधबारे हुदैँ पनि सडक यहाँ पुगको छ । मोरङको लेटाङबाट यतातिर आउने सडक पनि जोडिन्छ । यस क्षेत्रलाई हनिमुन स्पोट बनाउन सकिने सम्भावना समेत औल्याइँदैछ ।
पदयात्रा रुचाउनेलाई लेखगाउँ आराम गर्ने गन्तव्य हुन सक्ने घिमिरेको भनाई छ । राँके, पञ्चमी, दशमी, रवि, चिसापानी पञ्चमी, कन्याटार, लेखगाउँ, कम्फूटार, बुधबारे, मुडेबास, सन्तुटार, राजारानी, डाँडा गाउँ भेडेटार पदमार्गको लागि उपयुक्त हुने चर्चा हुने गरको छ ।
यहाँ पदयात्रा गर्नेलाई आराम गर्ने थलो लेखगाउँलाई बनाउन सकिन्छ । प्राकृतिकरुपमा सुन्दर रहेको यो ठाउँमा पुर्वाधारको विकास गर्नु पर्ने यहाँ पुग्नेहरुले बताउने गरेका छन् । यहाँ मेची पहाडी पर्यटन विकास समितिले केही सहयोग गरेको छ । थप पर्यटकीय पूर्वाधार र प्रचारप्रसार, उत्सव लगायतको आवश्यकता देखिएको छ ।