सुनिरा मैनाली,

झापा। मेचीनगर-९ धुलाबारीकी सिवाकोटी थरकी आफूलाई माताबताउने महिलाले बिरामीलाई उपचारका नाममा बोक्सीको आरोप लगाउने गरेको खुलेको छ । आफूलाई स्वघोषित माता बताउने ती माताले बिरामीलाई बकाउने गरेकी छन् ।

चक्कु, त्रिशुल, चम्मरले उफ्रिँदै बिरामीले बोक्सी को हो भन ? भन्दै भुत्ल्याउने, कराउने, पिट्ने गर्दछिन् । लगातार उनको तरिका पछि बिरामीले छरछिमेकका असहाय, गरीब र बृद्ध महिलालाई फलानो बोक्सी भन्दै बक्ने गरेका छन् । बिगत केही वर्षदेखि माताले उपचार गरेका बिरामीमार्फत बोक्सी आरोपित गर्न लगाउने गरेकी छन् ।

माताको यस्तो चर्तिकला अहिले विवादमा परेको छ । उनले यस्ता कार्यको बिरोधमा आउनेलाई उनका अन्धभक्तले आक्रमण र दूर्व्यवहार गर्ने गरेका छन् । । माताले बोक्सीको आरोप लगाएको विषयमा मंगलबार र बुधबार रिपोर्टिङ गएका पत्रकारलाई उनका आसेपासेले दूर्व्यवहार गरे । पत्रकारलाई क्यामरा, मोवाइल केही चलाउन नदिइ माता पत्रकारमाथि जाइलागेकी थिइन् । माताले सञ्चारकर्मीलाई मन्दिरभित्रै आज अघोषित बन्दी बनाइन् । पत्रकारसँगको विवादपछि मात्र उनले तस्वीर खिच्न दिएकी थिइन् ।

मेचीनगर ९ की ८१ वर्षीया गंगादेवी बस्नेत र उनकी छोरी शान्ति पौडेललाई कुमारी चम्लागाई र शिव चम्लागाईले बोक्सीको आरोप लगाएका छन् । बिरामी भएर माताकोमा गएपछि माताले बकाउने क्रममा कुमारी चम्लागाईले ८१ वर्षीया बस्नेत भएर बकेपछि उनीहरुलाई बोक्सीको आरोप लगाइएको हो ।

बस्नेतले वडा कार्यालय र इलाका प्रहरी कार्यालय धुलाबारीमा कारबाहीका लागि निवेदन दिइसकेकी छिन् । निवेदन मंगलबार नै दर्ता भए पनि कारबाही नभएको पीडितको गुनासो छ ।

बोक्सीको आरोप खेपिरहेकी गंगादेवी बस्नेतलाई ८ वर्ष अघिदेखि नै चम्लागाई परिवारले बोक्सीको आरोप लगाइरहेका थिए । छिमेकी चम्लागाई परिवारले लामो समयदेखि चौतर्फीरुपमा बोक्सी भन्न थालेपछि आफूलाई गाउँमा बस्न निक्कै अप्ठ्यारो भएको बस्नेतले बताइन् । ‘मलाई गरिदिने मान्छे कोही नभएका कारण म आजसम्म चुप लागेर बसेँ’, उनले भनिन् । आज यो उमेरमा यस्तो सुन्दा खप्न नसकेर वडा कार्यालय गएको उनले बताइन् । जग्गा विवाद भएपछि बोक्सीको आरोप लगाइएको उनको भनाइ छ ।

भोलिका दिनमा छोराछोरीको बिहे दान गर्नुपर्छ । बोक्सीको छोरी नातिनी पो रछे भनेर बिहे नहुने पो हो की भन्ने डरले सताएको शान्ति पौडेल बताउँछिन् । उनले भनिन्, ‘परिवारमा सात पुस्तालाई लाग्ने दाग लागेको छ । पटक पटक बोक्सीको आरोप लगाइएको छ । दोषीलाई कारबाही हुनुपर्छ । भोलि यस्तो घटना कतै नदोहोरियोस् ।’

मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गंगा खड्काले बोक्सीको आरोप लगाउने पक्षलाई कारबाही गर्नु पर्नेमा मेलमिलाप गराएका छन् । उनले दुई पक्षलाई राखेर मेलमिलाप गराएको स्वीकार गरे ।