दमक। झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ ।
मंगलबार र बुधबार गरी दुई जनामा डेङगुको लक्षण देखिएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङपछि झापामा पनि डेङगुको संक्रमण देखिन थालेको हो ।
धरानको सुनसरीमा महामारीको रुपमै फौलिएपछि अहिले डेङगुका संक्रमित जतातै भेटिन थालेका छन् । डेङगु नियन्त्रण गर्नका लागि दमक नगरपालिकाले बुधबारबाट सचेतनासहित लार्भा नष्ट गर्ने अभियान समेत सुरु गरेको छ ।
दमक-७ बाट सुरु गरिएको यो अभियानको शुभारम्भ नगर प्रमुख रोमनाथ ओलीले गर्नुभएको छ । बुधबार दमक-७ का विभिन्न ५ स्थानमा लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा परीक्षण गर्दा डेङगु सार्ने लामखुट्टे नभेटिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनुभयो ।
अभियानअन्तर्गत बिहीबार राजमार्गका बिभिन्न ग्यारेज क्षेत्रमा गएर काम नलाग्ने टायरको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । प्रयोगबिहीन टायरलाई अव्यवस्थित बनाई पानी जमाएर राखिने भएकोले त्यहाँबाट डेङगु फैलन सक्ने भन्दै त्यस्ता टायरहरु हटाउने अभियान सुरु गरिएको स्वास्थ्य संयोजक अर्यालले बताउनुभयो ।