खोटाङ। खोटाङका एक महिलाले सडकमा भेट्टाएको नगद ३१ हजार ५५ रुपैंयाँ हराउने ब्यक्तिलाई बुझाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ निगालेकी अनिता थापाले बाटोमा फेला पारेको उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको हो ।

सोही नगरपालिका-११ खार्मीकी लक्ष्मी राईले मंगलबार साँझ दिक्तेलबजारको रत्नपार्कमा हराएको रकम बुधबार फिर्ता पाउनुभएको छ । घर फर्कनेक्रममा बाटोमा फेला परेको रकम अनिताले जिल्ला प्रहरी कार्यालयमा प्रहरीको रोहबरमा लक्ष्मीलाई फिर्ता गर्नुभयो ।

दिक्तेल बजार आएर किनमेल गर्दै फर्कनेक्रममा लक्ष्मीले पैसाको पर्स नै हराएकी थिईन् । हराएको पैसा इमान्दार व्यक्तीले भेट्दा फिर्ता पाएको भन्दै लक्ष्मीले अनितालाई धन्यबाद दिनुभएको छ । भेटेको पैसा फिर्ता गर्ने अनिता दिक्तेल इंलिस बोर्डिङ स्कुलकी शिक्षिका हुन् भने पैसा फिर्ता पाउने लक्ष्मी गाउँकै जनकल्याण आधारभुत विद्यालयकी शिक्षिका हुन् ।

विभिन्न व्यक्तीले फोन गरेर भेटेको पैसामा दावी गरेपछि अनिताले जिल्ला प्रहरी कार्यालय पुगेर महिला नेतृ तथा अधिकारकर्मीको उपस्थितिमा पैसा फिर्ता गर्नुभएको हो । भेटेको पैसा फिर्ता गरेर अनिताले इमान्दारिको नमूना पेश गरेकी जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनुभयो । भेटेको पैसा फिर्ता गरेर उहाँले समाजमा सकरात्मक सन्देश दिनुभएको डिएसपी गौतमको भनाई छ ।