झापा । पटक पटकको अवरोध र अनेकन विवादलाई पार गर्दै सम्बन्धित ठेकेदारले बिहीबारबाट बिरिङ खोलाबाट नदीजन्य सामग्रीको उत्खनन् तथा निकासी गर्न थालेको छ ।

अर्जुनधारा नगरपालिकाले लगाएको ठेक्कामा स्थानीय तथा मजदुरको अवरोधका कारण अन्य खोलाबाट सामग्री उत्खनन् गरिए पनि बिरिङमा ठप्प थियो । तर, नगरपालिकाको समन्वयमा सबै विवाद तथा अवरोध हटेपछि ठेकेदार कम्पनी एसयुएस कम्पनीले बिरिङ खोलामै स्काभेटर मेसिन लगाएर नदीजन्य सामग्री निकालेको हो ।

उक्त कम्पनीले एक लाख ३७ हजार घनमिटर नदीजन्य सामग्री निकाल्ने अनुमति पाएको थियो । यसअघि एक घनमिटर पनि निकाल्न सकेको थिएन । बिहीबारबाट निकाल्न सुरु गरिएको सामग्री कम्तिमा १७ हजार टिपर हुने ठेकेदार कम्पनीका सदस्य राजकुमार थापाले बताए ।

उनका अनुसार पाएको अनुमतिका आधारमा नदीजन्य सामग्री उत्खनन् गरिने छ । शुक्रबारदेखि अन्य मेसिन वप्रयोग गरेर सकेसम्म चाँडै मापदण्डअनुसार पूर्व निर्धारित परिमाणका सामग्री उत्खनन् गरिनेछ ।

यसअघि नगरपालिकाले सर्वदलीय छलफल गरेर सहमति जुटाएको थियो । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा बसेको बैठकमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, विभिन्न राजनीतिक दलका जिल्लाका नेतृत्वको सहभागिता रहेको थियो ।

बैठकले स्थानीयबासीबाट उठेको माग सम्बोधन गर्ने, पानी, सिँचाइ, चेक ड्याम, तारजालीलगायतका काम तत्कालै सुरु गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, बिहीबार बसेको अर्को बैठकले अर्जुनधाराको १ नम्बर र बुद्धशान्तिको २ नम्बर वडामा रहेका विभिन्न ७ वटा पानी मुहान संरक्षणका लागि समिति खडा गरी तुरुन्तै काम अघि बढाउने, तारजाली र ढुंगाको व्यवस्थापन नगरले गर्ने निर्णय भएको छ ।

खोलामा भइरहेको नदीजन्य सामग्री उत्खनन्को स्थानीय वडा कार्यालयबाट अनुगमन गर्ने, आगामी दिनमा स्थानीय बस्ती र वडास्तरमा अभिमुखीकरण कार्यक्रम गर्ने पनि निर्णय भएको नगर प्रमुख रानाले बताए ।

उनका अनुसार वडा नम्बर १ को खगेन्द्र फूयँलको घरपूर्व बिरिङ खोला तटबन्धनको काम तुरुन्त अघि बढाउने, चेक ड्याम निर्माणका लागि नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबाट प्रभावकारी समिति गठन गरी काम अघि बढाउने पनि निर्णय भएको छ ।

चेक ड्याम निर्माणका लागि डिपिआर निर्माण भएपछि प्रदेश र संघ सरकारसँग समितिले पहल गर्ने, गराउने निर्णय पनि बिहीबार बिहान बसेको बैठकले निर्णय गरेको छ ।