अर्जुनधारा । महिलाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित शुक्रबार झापाको अर्जुनधारामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा ४५ जना महिलाले सेवा लिएका थिए । अर्जुनधारा-७ वडा कार्यालयको आयोजना र नेपाली आमा समूह अर्जुनधाराको सहआयोजना तथा प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । नेपाली आमा समूह अर्जुनधाराका सदस्य कल्पना कडरियाका अनुसार शिविरमा आङ खस्ने, महिलाको पाठेघरको मुखको क्यान्सर (भीआइए) परीक्षण गरिएको हो । आमा समूहले स्वास्थ्यकर्मी व्यवस्थापन गरेको शिविरमा निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

शिविरको औचित्यका विषयमा अर्जुनधारा-७ का वडाध्यक्ष नवराम ढुङगानाले प्रकाश पारेका थिए । उनले वडा सरकार आफ्नो वडाभित्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताए । शिविरमा १५ हजार रुपैयाँ बराबरको निःशुल्क औषधी वितरण गरिएको नेपाली आमा समूह अर्जुनधाराका अध्यक्ष राजकुमारी शेर्पा राईले बताइन् ।

शिविरमा आमा समूहका अध्यक्षसमेत रहेकी स्वास्थ्यकर्मी राजकुमारी, गंगा मेचे र पुनम शेर्पाले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा वडासदस्यद्वय सारदा भट्टराई र गोमा पर्वतेले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।