पवित्रा सुनार

गर्मी मौसम भन्नेबित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ ।

जस्तो कि गर्मी या जाडो महिना लम्बिनु, बेमौसमे गर्मी या जाडो हुनु, पानी पर्नुजस्ता कारणले सरुवा रोगको संक्रमण हुने गरेको चिकित्सक बताउँछन् । विगतको अनुभवमा भदौदेखि कात्तिकसम्म देखिने गरेकोमा यो वर्ष तराईका केही जिल्लामा पहिले नै देखिइसकेको चिकित्सक बताउँछन् । जस्तो कि यो वर्ष धरानमा डेंगुको प्रकोप फैलिइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुन मौसममा आएको उतारचढावका कारण यस्ता प्रकोप फैलिएको बताउँछन् । ‘तराईका विभिन्न भागमा पनि प्रकोपको सम्भावना छ ।’ वीर अस्पतालका फिजिसियन डा. परिमल कोइराला ।

यो मौसममा खाना छिटो सड्ने र यस्तो खानाले फुड प्वाइजन (विषाक्त) हुने, लामखुट्टेको वृद्धि पनि यही मौसममा बढ्ने हुनाले अन्य रोगको संक्रमण पनि यही मौसममा हुन्छ । वीर अस्पताल आकस्मिक कक्षका चिकित्सक डा. न्हुच्छेमान डंगोलका अनुसार अस्पतालमा गर्मी मौसममा बढेको प्रदूषणले दैनिक औसत पाँचजना श्वास-प्रश्वासका बिरामी र ४/५ जना झाडापखाला लागेका बिरामी पुग्छन् ।

चिकित्सकका अनुसार यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोग बढी सक्रिय हुन्छन् । साथै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सोप्लाइटिस, कीट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रवटाइफस, कालाजार पनि यही मौसममा सक्रिय हुन्छन् ।

दूषित पानी तथा खानाको कारण टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँजस्ता रोग लाग्छन् । गर्मी मौसममा सडेगलेका, झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँमा खानाले र आफ्नो पनि सफाइ राम्रोसँग नगरेको अवस्थामा यी रोग सर्छन् । ती सरुवा रोग यस प्रकार छन् :

झाडापखाला
– दूषित पानी तथा खानाले झाडापखाला लाग्छ । दूषित खाना तथा पानीमा कोलिफर्म तथा इकोलाई भिब्रियो कलेरा, कलेरालगायत संक्रमण गराउने जीवाणु हुन्छ । खाना तथा पानीको प्रयोग गर्ने क्रममा यो पेटभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ ।

झाडापखाला लागेपछि बारम्बार पातलो दिसा लाग्नुका साथै पेट दुख्छ । पखालाको समयमै उपचार नभए शरीरमा पानी र नुनको मात्रा कम भई जलवियोजन हुन्छ । जलवियोजनका कारण बिरामीको मृत्युसमेत हुन सक्छ । सडेगलेका खाना र दूषित पानीका कारण यो रोग लाग्ने भएकाले गर्मी मौसममा स्वच्छ पानी तथा खाना खाए यो रोगबाट बच्न सकिन्छ ।

घरबाहिर खाजा तथा खाना खाने जागिरे र मजदुर बढी मात्रामा झाडापखालाको संक्रमणमा पर्ने गरेको चिकित्सक बताउँछन् । राजधानीमा जारको पानीसमेत असुरक्षित रहेको र खानेपानीको पाइपमा ढल मिसिनु तथा यस्तो पानीको प्रयोग गरेको अवस्थामा पनि झाडापखालाको संक्रमण भएको देखिन्छ । यो रोग लागिहाले सक्दो मात्रामा जीवनजल र नरम झोलपदार्थ सेवन गर्नुपर्छ । यदि झाडापखालाको साथै वान्ता पनि छ भने अस्पताल जानु पर्ने चिकित्सक सुझाउँछन् ।

हैजा
दिसामिश्रित पानी या खानामा पाइने भिब्रियो कलेरा नामक जीवाणु पानी या खाना प्रयोगको क्रममा पेटमा पुगेपछि हैजाको संक्रमण हुन्छ । मनसुनको कारण पानीका स्रोत जमिनमुनिका पाइप, धारा तथा कुवा दूषित हुने र त्यस्तो पानी प्रयोग गरे यो जीवाणु हाम्रो पेटमा प्रवेश गर्छ । पेटमा पुगेपछि पेट दुख्ने, बारम्बार पातलो दिसा लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् ।

वान्ता र पातलो दिसा पटक-पटक हुँदा शरीरमा भएको नुन तथा पानीको मात्रा बगेर जान्छ र जलवियोजन हुन्छ । हैजा भइहाले जीवनजल बढी खाने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्छ । नेपालमा यो रोगको संक्रमण बर्सेनी हुने गरेकाले सफाइमा सचेत भए यो रोग लाग्नबाट बचिने चिकित्सक सुझाउँछन् ।

लक्षणहरू

– दिनमा तीन पटकभन्दा बढी दिसा लाग्ने
– वान्ता हुने
– दिसा गर्दा सजिलै आउने
– शरीर कमजोर हुने
– शरीरको मांसपेशी बाउँडिने

कसरी बच्ने
– दूषित खाना तथा पानी नखाने
– पानी उमालेर या शुद्ध गरेर मात्र खाने
– खाना खानुअघि अनिवार्य हात धुने
– शौचालय या सार्वजनिक स्थलबाट आएपछि अनिवार्य हात धुने
– बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने
– सडेगलेको तथा बासी खाने कुरा नखाने
– व्यक्तिगत सफाइमा ध्यान दिने

हेपाटाइटिस (जन्डिस)
दूषित पानीमा बस्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ भाइरस कुनै पनि माध्यमबाट मानिसको पेटमा प्रवेश गरे यो हेपाटाइटिस ए र ई को संक्रमण हुन्छ । हेपाटाइटिस कलेजोमा हुने रोग हो ।

अन्य कारणले पनि हेपाटाइटिस रोग लाग्छ तर पानीमा पाइने हेपाटाइटिस ए र ई भने गर्मीमा बढी सक्रिय हुने रोग मानिन्छ । गर्मी तथा मनसुनमा पानीको स्रोत दूषित हुने र सफाइमा कमी भए यो भाइरस मानिसको पेटमा प्रवेश गर्छ ।

दिसामिश्रित पानी या खानाको कारण नै यो रोग लाग्छ । रोेग संक्रमण भएपछि एक/दुई महिनामा आफैं निको भएर जान्छ । तर, हेपाटाइटिस ई भाइरस गर्भवती महिलालाई संक्रमण भएको खण्डमा ३० प्रतिशत मृत्यु हुने सम्भावना रहन्छ । गर्भवती महिलाले भने यी लक्षण देखिए तुरुन्त उपचार गराउनुपर्छ ।

लक्षणहरू
– आँखा पहेँलो हुने
– शरीर पहेंलो हुने
– पेट दुख्ने
– खान मन नलाग्ने
– वाक–वाक लाग्ने

कसरी बच्ने ?
– सफा पानी पिउने
– सफा खाना खाने
– व्यक्तिगत सफाइमा ध्यान दिने

मलेरिया

सुदूरपश्चिम, कञ्चनपुरसम्मको क्षेत्रमा मलेरिया देखिन्छ । लामखुट्टेले टोकेर फाल्सिफारम भन्ने परजीवी शरीरमा संक्रमण भएपछि मलेरिया हुन्छ । यसले टोकेको १२ देखि १४ दिनभित्र मलेरियाको लक्षण देखिन्छ । समयमै उपचार नभए यसले स्नायु प्रणालीमा असर गर्ने तथा मस्तिष्क ज्वरो पनि हुन्छ । समयमै उपचार नभएमा विरामीको मृत्युसमेत हुन सक्छ ।

साथै यो रोगले मिर्गौला तथा कलेजोसमेत बिगार्छ । यो रोगको संक्रमण भएमा काम ज्वरो आउने, पसिना आउनेजस्ता लक्षण देखिन्छन् । मलेरिया हुन ज्वरो आउनै पर्छ भन्ने मान्यता पनि छ । यो रोगमा ज्वरो आउनु मुख्य लक्षण हो । यो रोगमा नेपाल सरकारले आफ्नो स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि दिन्छ । अन्य अस्पतालमा पनि यसको उपचार हुन्छ ।

लक्षणहरू
– काम ज्वरो आउने
– पसिना आउने
– जिउ दुख्ने

कसरी बच्ने ?

– लामखुट्टेको टोकाइबाट बच्ने
– घरवरिपरिको वातावरण सफा राख्ने
– ज्वरो आउनेबित्तिकै मलेरिया परीक्षण गराउने
– झुल लगाएर सुत्ने
– पूरा बाहुलायुक्त लुगा लगाउने

डेंगु ज्वरो
डेंगु गर्मी मौसममै देखिने रोग हो । चिकित्सकका अनुसार ‘एडिस एजिप्टाई’ नामक प्रजातिको लामखुट्टेले टोक्दा डेंगु सर्छ । यो जमेको पुरानो तथा सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँमा फैलिने गर्छ ।

संक्रमित लामखुट्टेले टोकेको ५ देखि १० दिनभित्र बिरामीमा लक्षण देखिन्छ । संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दोहो¥याएर टोके यसले जटिल रूप लिन्छ । यो लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुन्छ ।

डेंगुको संक्रमण भएपछि रक्तश्राव भई प्रतिरक्षा क्षमता कम भएकाहरूको मृत्युसमेत हुनसक्छ ।

ज्वरोमा सिटामोल दिने, जलवियोजनमा स्लाइन र रगत बढी बगे रगत दिनुपर्छ । माथि उल्लेख भएकामध्ये कुनै पनि लक्षण देखिए बिरामीले चिकित्सकको सल्लाहमा मात्र उपचार गर्नुपर्छ । प्रशस्त झोल कुरा खाने र पानी पिउने गर्नु पर्ने चिकित्सकको सुझाव छ ।

लक्षणहरू
– शरीर धेरै दुख्ने
– कडा ज्वरो आउने
– कसैलाई ज्वरो नआउने
– शरीरमा रातो र नीलो धब्बा देखिने
– वान्ता हुने
– आन्तरिक रक्तश्राव हुने
– शरीरमा पानीको मात्रा कम हुने

कसरी बच्ने ?
– शरीर छोप्ने गरी लुगा लगाउने
– लामखुट्टेलाई असर गर्ने मलम शरीरमा दल्ने
– सफा पानी जम्ने भाँडा खुला नराख्ने
– बेलैमा लामखुट्टेको लार्भा नष्ट गर्ने

स्क्रवटाइफस
झाडीमा बस्ने परजीवी (कीर्ना)भित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु मानिसको शरीरभित्र प्रवेश गरेपछि यो रोग लाग्छ । किर्नाले टोकेको ५ देखि ६ दिनमा व्यक्तिलाई ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् । परजीवीले टोकेको भागमा कालो दाग देखिन्छ र कतिपयको नदेखिन पनि सक्छ ।

यो ‘ओरेन्सिया’ जीवाणु छालाबाट शरीरभित्र पसेपछि रगतको माध्यमबाट अन्य भागमा सर्छ । समयमै उपचार नभए यो शरीरका अन्य अंग मुटु, कलेजो, फोक्सो, मिर्गौलामासमेत फैलिएर बिरामीको मृत्यु हुनसक्छ ।

विगतका वर्षमा यो रोग लगातार देखिएकाले यो वर्ष पनि सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

लक्षणहरू
– ज्वरो आउने
– शरीरमा रातो बिमिरा आउने
– शरीर दुख्ने
– ग्रन्थि सुन्निने

कसरी बच्ने ?
– झाडी या बारीमा जथाभावी नबस्ने र नांगो खुट्टाले नटेक्ने
– घरवरिपरि सफा राख्ने
– चौर या झाडीमा नसुत्ने
– खेतबारीमा जाँदा पन्जाको प्रयोग गर्ने

कालाजार
विगतमा तराईका जिल्लामा देखिएको कालाजार पछिल्लो वर्ष पहाडदेखि हिमालसम्मका जिल्लामा फैलिएको पाइएको छ । सेनफ्लाई भनिने भसुुनाले टोके मानिसमा कालाजारको संक्रमण हुन्छ । शरीरमा प्रवेश गरेपछि यसले कलेजो, फियो हुँदै रगतका सेलहरूसमेत नष्ट गर्छ ।

सलफ्लाई भुसुनाले लेसमिनियाँसिस नामक परजीवी सार्छ । यो भुसुना गोबर, चिरा परेको पर्खाल, ओसिलो ठाउँ, मुसा बस्ने प्वाल, गाईगोठ, गुइँठा, कच्ची घर, गाईबस्तु र मान्छेसँगै बसेको घरमा बस्छ ।

यो भुसुनाले टोकेको २ देखि ६ महिनाभित्रमा लक्षण देखिन्छ । यो भुसुना १६ देखि ३० डिग्री तापक्रममा फैलिन्छ । यो फागुनदेखि असार-साउनसम्म बढी सक्रिय हुन्छ । यो रोगको समयमै उपचार नभए जटिल समस्या आई मृत्युसमेत हुन सक्छ ।

यो रोग लागिसकेपछि नियमित औषधिको सेवन गरे निको हुन्छ । तर चिकित्सक र नर्सको निगरानीमा मात्र औषधि सेवन गर्नुपर्छ । हाल नेपालका अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल र मेडिकल कलेजहरूमा कालाजारको उपचार हुने गरेको छ ।

लक्षणहरू
– दुई साताभन्दा बढी ज्वरो आउने
– मान्छे दुब्लाउँदै जाने
– भित्री अंग फियो र कलेजो सुन्निँदै जाने
– दायाँ पेट ठूलो हुने
– थोरै खाए पनि अघाए जस्तो हुने

कसरी बच्ने ?
– भुसुनाको टोकाइबाट बच्ने
– गाईबस्तु तथा माटाको प्वाल भएको घरका प्वाल टालेर भुसुना बस्न नदिने
– घरवरिपरि सफा राख्ने

सर्पको टोकाइ
गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी टोक्ने गर्छ । पहाडको तुलनामा तराईका सर्प बढी विषालु हुन्छन् । तराईको तुलनामा पहाडी सर्प कम विषालु हुने र टोकिहाले पनि ज्यानै जाने अवस्था नहुने भएकाले सर्पले टोकिहाले धेरै आत्तिनु नहुने चिकित्सकको सुझाव छ ।

चिकित्सकका अनुासर धेरैजसो बिरामी सर्पको विषले भन्दा पनि सर्पले टोक्यो भनेर आत्तिने क्रममा बेहोस हुने गरेका घटना धेरै छन् । टोकिहाले पनि सबै सर्पले विष छोड्न भ्याएका हुँदैनन् । पहाडी सर्पले टोक्दा ज्यान नगए पनि टोकेको अंगका लागि भने खतरनाक हुनसक्ने भएकाले टोकेपछि विभिन्न तरिकाले सतर्क हुनुपर्छ । तराईका सर्पहरू भने विषालु हुने भएकाले विष नफैलिँदै छिटोभन्दा छिटो उपचार गर्नुपर्छ ।

सर्पले टोकेमा आत्तिनुको सट्टा टोकेको भागमा खेलाडीले प्रयोग गर्ने ९स्पोर्ट ब्यान्डेज० हल्का ब्यान्डेज प्रयोग गर्ने र हलचल गर्दा शरीरमा विष फैलिने भएकाले बिरामी हलचल नगरी बस्नुपर्छ । सर्पले टोकेपछि आफूखुसी कुनै औषधिको प्रयोग गर्नुहुँदैन । तुरुन्तै हल्का ब्यान्डेज बाँधी छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्छ । सर्पले टोकेको भागभन्दा वरतिर ब्यान्डेज धेरै कसिलो बाँध्न नहुने डा. पुन बताउँछन् । बेस्सरी कसेमा पछि गएर रगत जम्ने प्रक्रियामा असर गर्छ । कतिपय अवस्थामा आन्तरिक तथा बाह्य रूपमा रक्तश्राव हुने, फोका पर्नेजस्ता समस्या देखिन्छन् ।

रगत सञ्चालन हुन नपाएको भागका कोष नष्ट हुन गई अंगसमेत काट्नुपर्ने अवस्था आउन सक्छ ।

सर्पले टोकिहाले के गर्ने ?
– आत्तिनु हुँदैन
– बिरामीले हलचल गर्नुहुँदैन
– टोकेको भागनजिक पे्रसर ब्यान्डेजले हल्का बाँध्ने
– बिरामीलाई सफा भुइँमा सुताउने
– जतिसक्दो स्वास्थ्य चौकी पु¥याउने
– कसिलो गरी ब्यान्डेज नबाँध्ने
– टोकेको भागमा आफूखुसी कुनै औषधि प्रयोग नगर्ने