धरान । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुले प्रकोप एक महिनासम्म नियन्त्रणमा आएको छैन।

यसमा सरकारको बेवास्ता र स्थानीयको लापरवाही कारक रहेको चिकित्सकको भनाइ छ। सरकारले औषधोपचारका लागि समयमा ध्यान नदिएको धरान–१५ का लोकेन्द्र खड्काले बताए।

एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो डेंगु। डेंगुका बिरामी बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

स्थानीय बासिन्दा त्रसित छन्। डेंगु संक्रमितको संख्या ५ सय ४० पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ सय ७४ जनाको उपचार भइरहेको सहायक निर्देशक डा. विकास साहले बताए। विजयपुर अस्पतालमा ७६ जना उपचाररत रहेको निर्देशक प्रभाव खतिवडाको भनाइ छ।

प्रदेश १ सरकारले ८० लाख बजेट विनियोजन गरे पनि पर्याप्त औषधिको व्यवस्था र लामखुट्टे मार्ने अभियान सञ्चालन नगरेको स्थानीयको आरोप छ। प्रतिष्ठानका सहायक निर्देशक साहले सरकारले निःशुल्क रूपमा किट उपलब्ध नगराएका कारण बिरामीको रगत परीक्षण गर्न समस्या भएको बताए।

उनका अनुसार सामाजिक विकासमन्त्री जीवन घिमिरेले सहज उपचारका लागि शुक्रबारसम्ममा १ हजार किट उपलब्ध गराउने बताएका थिए। तर, मन्त्रीले भनेअनुसार किट प्राप्त भएन।

प्रतिष्ठानले डा। विजय खनालको संयोजकत्वमा ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ। डेंगुले महामारीको रूप लिनुमा सरकारले जनपरिचालन नगर्नु, लामखुट्टे खोजी तथा नष्ट गर अभियानलाई तीव्र रुपमा नलैजानु र खानेपानी आपूर्ति नियमित नगरेका कारण डेंगु फैलिएको डा। खनालले बताए।

उनका अनुसार धरानवासीले दैनिक खानेपानी नपाएका कारण खुला रूपमा पानी जम्मा गर्दा लामखुट्टेले अन्डा पारी संख्या वृद्धि भएको छ। फोहोर व्यवस्थापन र दैनिक खानेपानी वितरण गर्न नसक्नु डेंगुको मुख्य कारक रहेको उनले बताए।

डेंगु लागेर निको भएका धरान-१५ का अइन्द्रविक्रम बेघाले डेंगु नियन्त्रणमा सबैभन्दा पहिला स्थानीय सचेत भई सरसफाइमा ध्यान दिनुपर्ने बताए। सरकारले प्रचारभन्दा लामखुट्टे मार्ने औषधि उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारीले असार १ देखि ७ गतेसम्म प्रत्येक घरमा भुइँदेखि छतसम्म लामखुट्टेका अन्डा, लार्भा, प्युपासहित सबै लामखुट्टे मार्ने अभियान सञ्चालन गरिने बताइन्। स्वास्थ्य मन्त्रालयसँग आवश्यक औषधिसमेत माग गरिएको उनले सुनाइन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले धरानमा डेंगु नियन्त्रण गर्न अझै एक महिना लाग्ने बताए। स्थानीयस्तरमै समूह बनाएर सावधानीपूर्वक लामखुट्टे मार्ने अभियान सञ्चालन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको उनले सुनाए।

ट्राफिक पनि बिरामी

सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका तीन जनालाई डेंगु संक्रमण भएको छ। प्रहरी नायब निरीक्षक एकराज खड्का, हवल्दार पदमप्रसाद सुवेदी र जवान चित्रबहादुर खड्कालाई डेंगु रोग लागेको सुनसरीका ट्राफिक प्रहरी प्रमुख होमराज दाहालले बताए। उनीहरूलाई शुक्रबार प्रतिष्ठानमा भर्ना गरिएको छ।

उदयपुरमा पनि डेंगु

उदयपुरका त्रियुगा, चौदण्डीगढी र कटारी नगरपालिका आसपासका क्षेत्रमा पनि डेंगु संक्रमण देखिएको छ। चौदण्डीगढी नगरपालिकाको बीपी चोकनजिकका एक युवालाई केही दिनअघि डेंगु संक्रमण भएको थियो। त्यसलगत्तै बुधबार त्रियुगा-३ मोतिगडाका ४० वर्षीय चूडामणि आचार्यमा रोग देखापरेको पुष्टि शुक्रबार विराटनगरस्थित नोवेल अस्पतालले छ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियाँलाल यादवका अनुसार बिरामीको उपचार नोवेलमै भइरहेको छ। कटारी नगरपालिका क्षेत्रमा पनि डेंगु रोग देखापरेको आशंकामा रगत परीक्षण गरिसकिएको उनले सुनाए। स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधिलाई खबर गरी सतर्कता अपनाउन र फोहोरमैला व्यवस्थापन गर्न आग्रह गरेको छ।

इटहरीमा ८ जना बिरामी

इटहरी उपमहानगरपालिकाका आठ जनामा डेंगु देखिएको छ। इटहरी अस्पतालका रामकुमार धमलाका अनुसार उपमहानगरका विभिन्न वडाबाट आएका बिरामीमा डेंगु संक्रमण भेटिएको हो। वडा नम्बर ५, ७, ८, ९, १७ मा यो रोगको संक्रमण भेटिएको उनले बताए।

इटहरी अस्पताल, धरानको विजयपुर अस्पताल र इटहरीकै एपेक्स अस्पतालले बिरामी पत्ता लगाएको उनको भनाइ छ। उपमहानगरका सबै स्थानमा जनचेतनामूलक कार्यक्रम गरिएको छ। डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन्।