काँकरभिट्टा । झापाको मेचीनगरमा थप २ जनामा डेंगु सक्रमण फेला परेको छ । यसअघि नगरमा २ जना डेंगुका रोगी फेला परेका थिए । ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार मेचीनगरको १ पाटापुर र १० को पशु बजारमा एक-एकजना डेंगुको रोगी फेला परेका हुन् ।

यसअघि मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको थियो । नगरमा डेंगु संक्रमितको संख्या ४ जना पुगेको संयोजक राईले जानकारी दिईन् । यो सँगै झापा जिल्लामा डेंगु संक्रमितको संख्या १४ पुगेको छ ।

१० मा फेला परेको ३१ वर्षीया यातायात मजदुर भएकाले धरानमा नै उनलाई डेंगु भएको अशंका गरिएको छ भने १ नम्बर वडामा फेला परेका २५ वर्षीया डेंगुका नयाँ विरामी हुन् । दुई जनाको उपचार मेचीनगरस्थित शिखर अस्पतालमा भइरहेको छ । स्वास्थ्यकर्मीका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । विरामीमा मनोविज्ञान असर पर्ने भएकाले स्वस्थ्यकर्मीले संक्रमितको नाम र थर भने बताउन चाहेका छैनन् ।

संक्रमितको घरमा पुगेर नगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुका परिवारसँग समेत छलफल गरेको छ । अस्पतालमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगुका संक्रमित नगरमा धमाधम फेला पर्न थालेपनि नगरपालिका यसको नियन्त्रणमा निक्कै कडाईका साथ अघि बढेको छ ।

नगरमा डेंगु संक्रमित फेला परेलगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई शाखाले तीव्र पारेको छ भने चेतनामुलक पर्चा पम्प्लेट वितरण, माइकिङ गरिरहेको शाखाका सहसंयोजक रामनारायण यादवले जानकारी दिए ।