बिर्तामोड । प्रहरीले बिर्तामोड-२ स्थित चारपानेबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पार्टीका झापा जिल्ला सदस्य चमलाल माझी र कुमार मैनाली पक्राउ परेका हुन् । पक्राउपश्चात उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

‘उनीहरुले विभिन्न स्थानमा बम राखेको मुद्दा दमकमा छ, त्यसकारण दमक लगिएको हो’, झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले भने, ‘अदालतबाट म्याद थप पनि भइसक्यो ।’

उनीहरु पक्राउ पर्नासाथ विप्लव नेतृत्वको नेकपा झापाले भने विज्ञप्ति जारी गर्दै दुवै जनालाई बीनासर्त रिहा गर्न माग गरेको छ । झापा प्रहरीले हालसम्म १० जनाभन्दा बढी विप्लव कार्यकर्ता पक्राउ गरिसकेको छ ।

पक्राउ परेका मध्ये चार जना भने कानुनी कारबाही प्रक्रिया पूरा गरेर छुटेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । रिहापश्चात उनीहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताइएको छ ।