मेचीनगर । झापाको मेचीनगरको चारआली तथा धुलावारी डेंगुको उच्च जोखिममा रहेका छन् । केही दिनदेखि नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको टोलीले यस्तो निष्कर्श निकालेको हो ।
१३ नम्बर वडाको चारआलीमा अत्याधिकरुपमा रहेका ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँमा प्रश्स्त लामखुट्टेका लार्भा फेला परेको कारण चारआली डेंगुको उच्च जोखिममा रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
केहीमहिना अघिदेखि सुनसरीको धरानमा फैलिएको डेंगु संक्रमण अहिले झापा मोरङमा समेत ह्वात्तै बढेको छ । मेचीनगरमा संक्रमण दर बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखासहित स्वास्थ्यकर्मीहरुको सम्पूर्ण शक्ति परिचालन गरेको छ ।
नगरमा डेंगु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई शाखाले तीव्र पारेको छ भने चेतनामुलक पर्चा पम्प्लेट वितरण माइकिङ गरिरहेको छ ।
स्वास्थ्यकर्मीहरुको अध्ययनले नगरको १३ नम्बर वडाको चारआली तथा १० नम्बर वडाको धुलावारी पशुहाट आसपाससहित यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको निष्कर्श निकालेको शाखाका संह संयोजक रामनारायण यादवले बताए ।
शाखाका संयोजक शशीकला राईका अनुसार हालसम्म नगरमा ४ जना डेंगु संक्रमित फेला परेका छन् । चारआलमिा मोटर ग्यारेजमा राखिएका टायर तथा टायर रिसोलिङ गर्ने ठाउँका टायरमा पानी जमेका कारण अत्यधिकमात्रामा लार्भा भेटिएका कारण यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको संयोजक राईले जानकारी दिईन् ।
लामो समयदेखि जमेको पानीमा, पानीको ट्याङकी, एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्ने गर्दछ । नगरको स्वास्थ्यकर्मीहरुको टोलीले चारआलीमा रहेको ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँको अनुगमन गर्दा लामो समयदेखि टायरमा जमेको पानी नफ्याक्दा त्यहाँ लार्भा भेटिएको र नष्ट गरेको थियो ।
‘मेचीनगरको १३ नमबर वडा चारआली र १० को धुलावारी डेंगुको उचच जोखिममा रहेको छ’, स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले भने, ‘टायरको उचित व्यवस्थापन नगर्दा तथा त्यहा जमेको पानी समयमै नफ्याक्दा यो समस्या आएको हो ।’
मेचीनगरको- १ पाटापुर र १० को धुलावारीस्थित पशु बजारमा एक/एक जना तथा मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरा गरी नगरमा नगरमा डेंगु संक्रमितको संख्या ४ जना पुगेको संयोजक राईले बताईन् ।
संयोजक राईका अनुसार सहरमा बसोबास गर्ने सर्वसाधारणले आफ्नै घर परिसरमा मात्रै पनि सरसफाईमा ध्यान दिने हो भने रोग संक्रमणको जोखिम आधा नै कम हुन्छ । एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायर जस्ता वस्तुमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ ।
त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने प्लाष्टिकका बट्टाहरु, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनहरुमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्न उनको भनाई छ ।