भोजपुर। भोजपुर नगरपालिका ३ बाट प्रहरीले दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित सोही नगरपालिका बस्ने ४६ वर्षीय जीतकुमार राई र ३६ वर्षीय लालबहादुर भुजेललाई पक्राउ गरेको हो ।

प्रहरीले दुवै जनाको साथबाट दुई नाल भरुवा बन्दुक, चार सय ग्राम बारुद र बन्दुकमा प्रयोग गरिने छर्रा समेत बरामद गरेको छ ।

अवैध हतियारसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखी थप अनुसन्धान भईरहेको जनाइएको छ ।