पाँचथर- पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङका हत्या आरोपी समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख एवं डीएसपी नरेन्द्र कुँवर नेतृत्वको टोलीले हत्यामा संलग्न हिलिहाङ गाउँपालिका ६ का १९ वर्षीय घनेन्द्र लावती (अश्मिन)लाई बिहीबार पक्रिएको छ ।

प्रहरीले तामाङका साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकरी पनि बरामद गरेको छ । हिलिहाङ ६ रातमाटेमा लघुवित्त समूहको बैठक सञ्चालनसँगै ब्याज र किस्ता संकलन गरेर फर्कंदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टेको जंगलमा हत्या गरिएको थियो ।

घटनालगत्तै अनुसन्धान थालेको प्रहरीले लावतीलाई हिलिहाङ ५ बाट समातेको हो । लावतीले पैसाकै लोभमा तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।