अर्जुन राजवंशी,

बिर्तामोड- बिनु कट्टेल थपलिया नारी फिटनेस सेन्टर सञ्चालक हुन् । तीन वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आए पनि थपलियालाई करसम्बन्धी ज्ञान छैन । थपलिया जस्तै नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली पनि व्यावसायिक करका विषयमा अनविज्ञ छिन । उनीहरूजस्तै समस्या बिर्तामोड नगरपालिकाका करिब ३ सय महिला उद्यमीमा रहेको छ ।

लामो समयदेखि विभिन्न उद्योग व्यवसाय गर्दै आए पनि त्यसबाट राज्यप्रतिको आफ्नो दायित्व र राज्यबाट प्राप्त हुने सेवा सुविधाका बारेमा उनीहरूलाई पर्याप्त जानकारी छैन । उद्यमशील महिला संघले शुक्रबार बिर्तामोडमा महिला उद्यमीलाई भेला गरेर करसम्बन्धी जानकारी दिएको छ । वर्षौंदेखि व्यवसाय गर्दै आए पनि अधिकांश महिलाले आफ्नो व्यवसायलाई दर्ता प्रक्रियामा समेत लगेका छैनन् । दर्ता प्रक्रियामा नजाँदा राज्यबाट पाउने छुट र सुविधा प्राप्त गर्न नसकिरहेको संघकी महासचिव सावित्रा दाहालले बताइन ।

‘व्यवसाय गर्दा नाफा कमाउन मात्र केन्द्रित हुनु भएन । व्यवसायीले राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्नुपर्छ’, बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाईले भनिन, ‘राज्यको कानुनअनुसार कर तिर्ने र कर तिरेपछि राज्यबाट पाइने सेवा सुविधा लिन पनि महिला उद्यमी पछि पर्नु हुँदैन ।’ कर बाध्यता नभई व्यवसायीले कर्तव्य ठानेर तिर्नुपर्ने प्रसाईको सुझाव थियो ।

उनले मुलुकको नियम भन्दैमा जथाभावी नभई व्यवसायीको हितमा हुनेगरी करको दर र दायरा तय गर्नुपर्ने धारणा राखिन । संघकी अध्यक्ष विमलीले जिल्लामा पटकपटक कर बारे छलफल कार्यक्रम भए पनि महिलाको उपस्थिति नहुने गरेकाले महिला करबारे अनविज्ञ रहँदै आएको बताइन ।

‘व्यवसाय गर्नेलाई करका विषयमा जानकारी राख्न अनिवार्य छ । तर, महिलालाई त्यसबारे कुनै जानकारी नै हुँदैन’, विमलीले भनिन, ‘करबारे अझै पनि जानकारी नदिने हो भने धेरै महिला उद्यमी विभिन्न समस्यामा पर्न सक्ने अवस्था आउन लागेको छ ।’

अर्जुनधाराकी उद्यमी सरु बुढाथोकीले महिलाले गर्ने व्यवसायमा करको विशेष सहुलियत हुनुपर्नेमा जोड दिइन । समयमै व्यवसाय दर्ता गर्दा, नियमित कर तिर्दा तथा व्यवसाय छोड्नुपर्दा सम्बन्धित कार्यालयमा खारेज नगरी छोडदा धेरै महिला दिदीबहिनीले दुस्ख पाएकोबारे छलफल भएको थियो ।

पछिल्लो समय करको दायरा र दर वृद्धि हुँदा महिला व्यवसायी थप मारमा परेको व्यवसायी सुवास भट्टराईले बताए । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यले करको विभिन्न पक्षबारे जानकारी दिएका थिए । कान्तिपुरमा समाचार छ ।