झापा । पूर्वी पहाडी जिल्लामा खाद्यान्न सहज आपूर्तिको लागि झापाको चन्द्रगढीमा नेपाल खाद्य संस्थानबाट स्थापना भएको खाद्य गोदाम प्रयोगविहीन बनेको छ।

विसं २०४४ सालमा खाद्य कार्यालय विर्तामोड सरेपछि चन्द्रगढीमा रहेका दुइटा गोदाम प्रयोगविहीन बनेका हुन्। कृषि खरिद-विक्री संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्धेश्यले निर्माण गरिएका ३ ठूला भवन विगत ३० वर्षयता नियमित प्रयोगमा आएका छैनन्। करिब दुई विघा क्षेत्रफलभित्र रहेका २ ठूला भवन खाद्य र एउटा कृषि सामग्री संस्थानको हो।

भवनको अवस्था समेत जीर्ण बन्दै गएको छ। छानो लगाइएका जस्ता पाता पुरानो हुँदै वर्षाको समयमा पानी चुहिन थालेको छ भने झारपात उम्रेर ती भवन छोपिन लागेका छन्।

सदरमुकाममा रहेका अन्य सरकारी कार्यालयहरू धमाधम आधुनिक शैलीमा निर्माण भइहेका छन्। तर, खाद्य आपूर्तिमार्फत् जनतालाई बचाउनको निमित्त निर्माण गरिएका गोदामको भने अवस्था दिनहुँ नाजुक बन्दै गइरहेको छ।

मेची अञ्चलका इलाम, ताप्लेजुङ र पाँचथर जिल्लाका नागरिकलाई लक्षित गरी स्थापना गरिएका गोदाम पछिल्लो समय सबै क्षेत्रमा यातायात र सडक सञ्जालले गर्दा तत्काल उपभोग्य सामग्री पुग्ने भएकोले खाद्य गोदाम प्रयोगविहीन भएको यसका जानकार बताउँछन्।

खाद्य कार्यालय सरेपछि चन्द्रगढीमा रहेको एउटा भवनमा स्थानीयसहित राष्ट्रसेवक कर्मचारीले व्याडमिण्टन खेल्दै आएका थिए।

२०७२ सालको भूकम्पमा बंगलादेशबाट आएका भूकम्प पीडितका राहत सामग्री राखेपछि व्याडमिण्टन बन्द भएको थियो। अर्को भवनलाई निर्वाचन कार्यालयले ०७४ सालमा भाडामा लिएको थियो। अहिले निर्वाचन कार्यालयले पनि उक्त भवन छोडिसकेको छ।

कृषकबाट संकलित धान, गहुँ, चामल पहाडी क्षेत्रमा विक्रीका लागि भण्डारण गर्दै आएको भवन तीन दशकयता नामै मात्रको भएको स्थानीयले बताएका छन्।

भद्रपुर उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्माले सर्वसाधारणलाई सहज होस् भन्दै खोलिएको खाद्य गोदाम प्रयोगविहीन हुनु कृषक र सर्वसाधारणको हितमा विपरीत भएको बताए।

प्रयोगविहीन भएको भवनलाई भद्रपुर भन्सारले सुख्खा बन्दरगाहको रूपमा ल्याउन सकिने स्थानीय तथा व्यवसायीले स्थानीय प्रशासनलाई सुझाव दिएका छन्।

भन्सारदेखि ५ किलोमिटरसम्म गोदाम राख्न पाउने कानुनी प्रावधान छ। जीर्ण बन्दै गएको भवनलाई मर्मत गरेर प्रयोगमा ल्याउन नेपाल सरकारलाई स्थानीयले सुझाव दिए।

सरकारी कार्यालय परिसरमा देखिएको पार्किङ समस्यालाई समेत सो स्थान प्रयोग गर्न सकिने स्थानीयको सुझाव छ।

गोदाम भाडा लगाउनको लागि गत वर्ष सूचना प्रकाशित भएको थियो। विर्तामोडको भवन भाडा लागे पनि चन्द्रगढी भवनको लागि कोही नआएको खाद्य संस्थानका मेची अञ्चल निमित्त प्रमुख महेन्द्र सिटौलाले बताए।

भवन जीर्ण भएकोले मर्मत सम्भार गरेर वैकल्पिक प्रयोगमा ल्याउन छलफल भइरहेको सिटौलाको भनाइ छ। सरकारले लगानी गरेको यस्ता सार्वजनिक संरचना लथालिंग अवस्थामा हुँदा स्थानीय हैरान छन्।