विनोद सापकोटा,
झापा । नगरसभाको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा कुरा नमिलेपछि शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा नगरकार्यपालिका बोर्डबाटै आलोचित बनेका छन् ।
मेयर शेर्माले प्रस्ताव गरेका सरकारका कर्मचारी महान्यायधिवक्ता अग्नी खरेललाई असार १० गते हुने नगरसभाको प्रमुख अतिथिको प्रस्ताव ल्याएपछि उनी आलोचित बनेका हुन् । उनको प्रस्तावको विपक्षमा नगरसभाका ९५ प्रतिशत सदस्य उभिएपछि उक्त प्रस्ताव अनिर्णित पनि बन्यो ।
प्रमुख अतिथिको विषयमा निश्कर्ष ननिस्किएपछि कार्यपालिका सदस्यको गएको ५ गतेको नियमित र आइतबारकोे बैठक स्थगित भएको थियो । कार्यपालिकका एक सदस्यका अनुसार बैठकमा वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा र वडा नम्बर ८ का अध्यक्ष केहरसिंह बस्नेतले एलपी साँवाको विकल्प नभएको राय राखेका थिए भने अन्य सदस्यले मर्यादाको ख्याल गर्नुपर्ने मेयर शेर्मालाई सुझाएका थिए ।
कार्यपालिकाका बहुसंख्यक सदस्यले निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद साँवा लिम्बू नै नगरसभाको प्रमुख अतिथिमा एकमात्र विकल्प भएको बताउँदै आएका छन् । मेयर शेर्मा, उपमेयर भोजकुमारी नेपाल र वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेत भने महान्यायधिवक्ता खरेललाई आसन्न नगरसभाको प्रमुख अतिथि बनाउने पक्षमा रहेको कार्यपालिकाकै अर्का एक सदस्यले बताए ।
उनले भने, ‘मेयर शेर्माले स्थानीयबासीसमेत रहेका संघीय सांसदलाई वाइपास गरेर आफू निकटका सरकारी कर्मचारीलाई प्रमुख अतिथि बनाउनु पार्टीभित्र र बाहिर दुवैतिरबाट नगरकार्यपालिकाको बेइज्जत हुनेछ ।’
पार्टीको जिम्बेबारीका हिसाबले खरेल कुनै तहमा छैनन् । न त उनी जनप्रतिनिधि नै हुन् । गौरादह घर भएका खरेलको शिवसताक्षी नगर भनेको ससुराली घर हो । खरेलका एकाध निकट व्यक्ति शिवसताक्षी नगरमा छन् । त्यसमध्येका प्रमुख पात्र नगरका मेयर चन्द्रकुमार शेर्मा हुन् ।
निकटताकै कारणले जो पायो त्यही व्यक्तिलाई कार्यक्रममा बोलाउन नहुने एक वडा अध्यक्षले बताए । उनले भने, ‘मेयर शेर्माले कुन स्वार्थका लागि अग्नी खरेललाई प्रमुख अतिथि बनाउन लागेका हुन्, कसैलाई पत्तो छैन ।’ यसैबीच, पार्टीभित्र यसको खोजी हुन थालेको एक नेताले बताएका छन् ।
जनमतको हिसाबले एलपी साँवा लिम्बूले दोश्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीसँग २३९ मतको झिनो अन्तरले पराजय भोगेका थिए । तर, ०७४ सालको आम निर्वाचनमा भने १६ हजार ८ सय मत पाएर विजय भएका थिए ।
यो मतअन्तर प्रदेश नम्बर १ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पछि हो । निर्वाचन जितेपछि संघीय सांसद साँवाले करिब १ अर्ब बराबरको योजना आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् । यो रकम स्थानीय पूर्वाधार विकास साझेदारी (संसदीय कोष) बाहेकको हो ।
यो समाचार तयार हुँदा नगरसभाको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा कार्यपालिका बोर्डले निर्णय गर्न सकेको छैन ।