फिदिम । पाँचथरको सदरमुकाम समेत रहेको फिदिम बजारमा धार्मिक पर्यटनको संभावना उच्च छ । यहाँका देबस्थल तथा ऐतिहाँसिक स्थललाई थप प्रचार गर्न सके यहाँ आउने धार्मिक पर्यटकको बृद्धि हुनेमा दुई मत छैन । बजेट निर्माणको यो समयमा त्यस्ता क्षेत्रको पहिचान गर्न स्थानीय सरकारले चासो दिनु पर्ने सरकोकारवालाको भनाई छ ।
बिश्वका कतिपय क्षेत्रमा धार्मिक हिसावमा संसारभरका नागरिक भित्राउने अनेकन उपायहरु अपनाइरहेको सन्दर्भमा हामीले पनि हाम्रा संपदा चिन्ने हो र सोही अनुसारको प्रचारप्रसार गर्ने हो भने त्यसले अन्तः हामीलाई नै फाईदा पुग्ने हो ।
यहाँ केही यस्था क्षेत्र छन जुन संसारको कुनै क्षेत्रमा पनि छैन । जस्तो किराँत धर्मका प्रणेता महागुरु फाल्गुनन्द लिङदेन ज्युको समाधी स्थल । यस्ता संपदाको अहिले पनि समस सापेक्ष प्रचार हुन सकिरहेको छैन । त्यसबाहेकका अरु पनि पर्यटकीय क्षेत्र छन जुन अन्त कतै छैनन । सुम्हात्लुङ मन्दिर, थाक्ले मन्दिर लगायतका क्षेत्रको आफनै महत्व छ ।
नगरपालिका सहितका स्थानीय सरकारको पहलमा ती क्षेत्रहरुको प्रसार गर्न सके हामीमा रहेको संपदाले हामीलाई नै समृद्ध बनाउने हुन । नगरपालिकाले धार्मिक पर्यटनको क्षेत्रलाई पनि उचित स्थान दिन सके यो आम्दानीको पनि स्रोत हुन सक्छ । यता तर्फ ध्यान दिने हो की ।
हामी संपदाको हिसावमा संसारमा धनी मधयेमा पर्छौ । हामीले गर्न नसकेको बिषय भनेको तिनलाई संसार सामु चिनाउन नसक्नु हो ।
बिसं १९८३ पछि अस्तित्वमा आएको सिलौटी क्षेत्र किराँत धार्मिक आस्थासंग जोडिएको ऐतिहाँसिक क्षेत्र हो । महागुरू फाल्गुनन्द लिङदेनद्धारा तात्कालिन अवस्थामा सत्य धर्म मुजुल्का तयार पारेर लागु गराएको बिषयसंग यहाँको ऐतिहासिकता जोडिन्छ । हाल धार्मिक पर्यटन मात्रै नभएर अन्य पर्यटक समेत यहाँ आउने क्रम बढेको छ ।
लब्रेकुटी, सिलौटी र पौवाभञ्ज्याङ क्षेत्रलाई एकीकृत गरेर पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सकिने त्यस क्षेत्रका जानकारहरुको भनाई छ ।
यता फिदिम नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलको चर्चा गर्दा छुटाउनै नहुने नाम हुन पौवाभञ्ज्याङ–साधुटार क्षेत्र । मेची राजमार्गको इलाम हुँदै पाँचथर सदरमुकाम फिदिम आउने क्रममा पौवा-भञ्ज्याङ पहिले आइ पुगिन्छ ।
पौवाभञ्ज्याङ भन्दा करिव ३ किलोमिटर कच्ची सडक हिँडेपछि पुगिन्छ साधुटार । साधुटार क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा उदाएको लामो समय भएको छैन । छोटो समयमा आन्तरिक पर्यटकका लागि मुख्य गन्तब्य बनेको साधुटारका लागि नगरपालिका सहितका सरकारी निकायले ब्यवस्थापनमा केही गर्नु पर्ने देखिन्छ । त्यहाँको मनोरम दृष्य अवलोकन गर्नका लागि पर्यटक पुग्ने गरेका छन ।
यहाँको अर्को धार्मिक क्षेत्र भनेको सुम्हात्लुङ क्षेत्र पनि हो । यो फिदिम नगरपालिका वडा नम्बर ४ मा पर्छ । सुम्हात्लुङ मन्दिर किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हो । सुम्हात्लुङ क्षेत्रमा धार्मिक पर्यटकसंगै अन्य पर्यटकहरु समेत उल्लेख्य मात्रामा पुग्ने गरेका छन । यो क्षेत्रमा मुख्य गरेर महागुरु फाल्गुनन्दको जन्म जयन्ती, चासोक तङनाम, मकर संक्रान्ती जस्ता पर्वमा उल्लेख्य चहल-पहल हुने गरेको छ
उता थाक्ले मन्दिर सदरमुकाम देखी ७ किलोमीटर दूरीमा अवस्थित छ ।
विक्रम सम्वत १९५४ सालमा निर्मित यस मन्दिर हाल फिदिम नगरपालिकाको वडा नं ४ रहेको छ । मन्दिर नजिकैसम्म मोटरवाटो सुविधा भएकाले त्यहाँ पुग्न समस्या छैन ।
लोक कथन अनुसार विक्रम सम्वत १८०० पछि अस्तित्वमा आएको मानिन्छ । यस मन्दिर क्षेत्रका ठूला ठूला ढुंगामा फिदिम १ का रुद्र तुम्रोकले कुँदेका युमा, सिरिजंगा र शिव पार्वती आदिका मुर्तीले मन्दिरको शोभा वढाएको छ । थाक्ने मन्दिरमा मुख्य गरेर धार्मिक हिसावमा हिन्दु धर्मावलम्बीहरुको उपस्थिति हुने गरेको छ ।
तर, पछिल्लो समय थाक्ले क्षेत्रलाई बहुधार्मिक गन्तब्य बनाउने भन्दै वडा नम्बर ४ को पहलमा काम भइरहेको छ । बृहत बुद्ध मुर्तिदेखी आवस्यकीय भौतिक संरचनाको निर्माणका लागि काम भएरहेको हो ।