झापा । अर्जुनधारा नगरपालिकाको पाँचौ नगर सभा मंगलबारदेखि सुरु भएको छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता तथा प्रदेश सांसद बृख प्रधानको प्रमुख आतिथ्यमा सुरु भएको नगर सभामा नगरकी उपमेयर तथा योजना तर्जुमा समितिकी संयोजक कमला आचार्यले नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
नगर सभाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब पाँच करोड ९० लाख ३९ हजार रुपैयाँको अनुमानित बजेट ल्याउने तयारी गरेको छ । अनुमानित बजेटमाथि सभामा छलफल हुन बाँकी नै छ ।
कार्यक्रम दिउँसो तीन बजे सुरु हुने भनिए पनि नगर सभाका अध्यक्ष मेयर हरिकुमार राना ४ बजेर २० मिनेटमा हलमा प्रवेश गरेका थिए । एक मिनेटपछि राष्ट्रिय गानमा सहभागी भएपछि ४ः२२ बजे सभाध्यक्षले आचारसंहिता पढेर सुनाएका थिए ।

४ः२६ बजे कार्यक्रमबारे जानकारी गराएका उनले ४ः२८ बजे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि नगरकी उपमेयर तथा योजना तर्जुमा समितिकी संयोजक कमला आचार्यलाई समय उपलब्ध गराएका थिए ।
नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उपमेयर आचार्यले पूरा ५७ मिनेट समय खर्च भएको थियो । प्रमुख अतिथि सांसद प्रधानले शुभकामना मन्तव्य राख्ने क्रममा २५ मिनेट समय खर्चेका थिए ।
नगर सभाका अध्यक्ष रानाले नीति तथा कार्यक्रममाथि छलफल गर्ने गरी असार १२ गते ११ बजे २९ मिनेट ५९ सेकेण्डका लागि सभा स्थगित गरिएको सभालाई जानकारी गराएका थिए ।