पाँचथर । पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपाल पत्रकारिताबिरुद्ध गम्भीर आरोप तथा पत्रकारको मानमर्दन गर्ने गरी सामाजिक सञ्जालमा प्रस्तुत भएका छन् ।शुक्रबार फिदिम टुडे दैनिकमा प्रकाशित ‘स्वार्थ समूहको चंगुलमा स्थानीय सरकार’ शीर्षकको समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई लिएर बाणिज्य अध्यक्ष नेपालले आफ्नो फेसबुकमा पत्रिका र पत्रिकका सम्पादकविरुद्ध गम्भीर आक्षेप लगाउँदै स्टाटस लेखेका हुन् । पत्रिकामा प्रकाशन भएको समाचार सामग्रीका विषयमा चित्त नबुझे सोही पत्रिकामा खण्डन छाप्नेसहितका विभिन्न प्रवधान भए पनि उनी र उनको संस्थाका विषयमा नलेखिएको समाचारका विषयमा उनले स्टाटस लेखेका हुन् ।उनको स्टाटसमा भनिएको छ- ‘बैकल्पिक पेशा होइन अन्तिम पेशा पत्रकारिता भएका एक पत्रकार महाशयले स्वार्थ समुहको नाम दिएर फिदिम नगरपालिकाका श्रद्धेय मेयरसाबका सल्लाहकारहरुका बिषयमा विष ओकलेछन् । यिनले विष ओकलेको अलि धेरै नै भयो । हुन त यिनलाई मेयरका उम्मेद्धार नै मन परेको थिएन, त्यसैले यिनलाई मेयरका सल्लाहकारहरु मन पर्ने कुरो पनि भएन ।’

अगाडि भनिएको छ, ‘वास्तबमा सल्लाहकारको ब्यथा सल्लाहकार भईसकेकाहरुलाई मात्र थाहा हुन्छ । सल्लाहकार नभएको मान्छेलाई सल्लाहकारको भूमिका थाहा हुने कुरो पनि भएन । सल्लाहकारले मागेका बखत सल्लाह दिने हो, सल्लाहकारको भूमिका द्विविधामा राय दिने हो, हस्तक्षेपकारी हुदैन भन्ने न्युनतम ज्ञान चाहिँ आफूलाई मिस्टर अल सम्झिने यी महाशयलाई कम्तिमा थाहा हुन पर्ने हो ।’उनले अझै थपेका छन्, यिनको जानकारीका लागि म निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था पाँचथर उद्योग बाणिज्य संघको निर्वाचित अध्यक्ष हो । अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातकसम्म गरेको छु । यति मिलाउँदा मेयरसाबको आर्थिक सल्लहकार हुन न्युनतम योग्यता चाहिँ अवश्य पुग्छ । उद्योग बाणिज्य संघको अध्यक्ष पालिकाहरुको राजश्व परामर्श समितिको सदस्य हुने नीतिगत ब्यवस्थाले पनि नगरपालिकाकै आर्थिक सल्लाहकार हो भन्दा अतियुक्ति हुँदैन । आफू विज्ञ होइन भन्ने राम्रो हेक्का पनि छ र नगरपालिकामा अलग्गै विज्ञ समुह पनि छ भन्ने जानकारी लिन यिनलाई अनुरोध गर्दछु ।’

उनले समाचारमा आएका सामग्रीभन्दा पनि ब्यक्तिगत हिसावमा होच्याउने शैली प्रश्तुत गरेका छन । अध्यक्ष नेपालको फेसबुक स्टाटसमा थुप्रै प्रतिकृया आएका छन । प्रतिकृया दिँदै नेपाल पत्रकार महासंघका सचिव समेत रहेका पत्रकार तुलसी क्षितिजले बिचारप्रति सहमति रहेको बताएका छन । पत्रकार र पत्रकारिताविरुद्ध लेखिएको स्टाटसमा उनले सहमति जनाएपछि पाँचथरका पत्रकारवृत्त बहस चुलिएको छ । सोही बिषयमा प्रतिकृया दिँदै व्यापारी तथा पाँचथर उद्योग बाँणिज्य संघका पूर्व अध्यक्ष शुबराज थापाले उक्त समाचार लेख्ने पत्रकार नभएर जंगली जनवार भएको उल्लेख गरेका छन । पत्रिकाका सम्पादकलाई गम्भीर आरोप लगाउदै पत्रकारलाई कार्यक्षेत्रबाट लखेट्ने आसयको शब्द लेख्दै उनले लेखेका छन्, ‘यो जंगली जनवारजस्तो झ्यापुल्लेलाई तह लाउन कि त इटहरि निर्यात गरम कि त द्वारिका बालाई बोलाउम ।’

सामाजिक सञ्जालमा पत्रकार र पत्रकारिताविरुद्ध स्टाटस लेखिएपछि पाँचथरमा रहेका विभिन्न पेशागत संगठनले आपत्ति जनाएका छन् । नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष भीम बाँस्कोटाले पाँचथर बाणिज्य र अध्यक्ष नेपालको प्रेसमाथिको दृष्टिकोण छर्लंग भएको उल्लेख गरे । उनले प्रेसमाथिको जुनसुकै आक्रमणमा युनियन चुप लागेर नबस्ने बताएका छन् । समाचारका विषयमा चित्त नबुझे विभिन्न उपाय अवलम्वन गर्नुपर्नेमा पत्रकार र पत्रकारिता पेसालाई गालीगलौज गर्नु गलत भएको उनले बताएका छन् । त्यस्तै, इन्सेक प्रतिनिधि मंगल बेघाले पाँचथर बाणिज्यका अध्यक्ष नेपालको अभिव्यक्ति भत्र्सनायोग्य भएको बताएका छन् । गालीगलौजमा उत्रेर प्रेसमाथि धावा बोल्दा राम्रो सन्देश नजाने उनले उल्लेख गरेका छन् । पत्रकार र पत्रकारिताविरुद्धको अभिव्यक्ति स्वीकार्न नसकिने संघीय पत्रकार मञ्च पाँचथरका अध्यक्ष सन्देश सुब्बाले उल्लेख गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकारमाथि गरिएको व्यवहार गलत रहेको उनको ठम्याइ छ ।