तीर्थ तिम्सिना,
बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकामा पनि १६औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । दही चिउरा खाने दिन अर्थात् असार १५ गते न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति-३ झापाले आयोजना गरेको राष्ट्रिय धान दिवसका दिन बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले पटाहा लगाउँदै धान रोपेर यो दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथिले पटाहा लगाउँदा र धान रोप्दा त्यहाँको माहोल रोचक बनेको थियो । सोही कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्रेती, गाउँपालिका कृषि शाखा प्रमुख भुपेन्द्र यादव, सहकारी संस्थाका अध्यक्ष ईश्वरीराज ढकालले पनि खेतमै गएर धान रोपेका थिए ।
संस्थाकी सेयर सदस्य बिष्णुमाया दाहालको करिव १० कठ्ठा जमिनमा गरिएको सामुहिक रोपाइँमा परम्परागत संस्कृति झल्किने बाजागाजा र असारे गीत गाउँदैं बुद्धशान्ति ३ का १६ वटा कृषक समुह, सहकारी संस्था, स्थानीय कृषक, विद्यालय, जनप्रतिनिधि, सञ्चारकर्मी गरी तीन सयभन्दा बढीले रोपाइँ गरेका थिए । रोपाइँसंगै सामुहिक दही, चिउरा खाने कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
सोही अवसरमा २ जना कृषकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा वर्ष उत्कृष्ट कृषक गंगाराम न्यौपाने र वर्ष उत्कृष्ट पशुपालन व्यवसायी जितेन्द्र धिमाल रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि भुजेल तथा अध्यक्ष ढकालले नगद २ हजार, सम्मानपत्र तथा कुटो कोदालोले सम्मान गरिएको संस्थाका कृषि संयोजक फणिन्द्र ढुङ्गानाले बताए ।
‘धान खेतीमा प्रविधि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मुल नारासहित आयोजित सामुहिक धान रोपाई कार्यक्रममा प्रमुख अतिथि रहेका बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले कृषि सहकारी भएर बुद्धशान्तिमा फरक किसिमको कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गरेका थिए । जुन कार्यक्रम हरेक कृषि सहकारीले सिको गरि गर्न जरुरी रहेको बताए ।
उनले बुद्धशान्ति गाउँपालिका कृषिको पकेट क्षेत्र भएकाले कृषि क्षेत्रमा बिशेष किसिमले बजेट छुट्याएको हुनाले कृषि सहकारीहरुले गाउँपालिका संग समन्वय गरेर अनुदानमा स्थानीय कृषकहरुलाई मल बिउ तथा राषायनीक औषधीहरु बिक्री बितरणहरु गर्न आग्रह गरे । कार्यक्रममा वडाध्यक्ष उप्रेती, कृषि प्रमुख यादवले समेत कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए ।
संस्थाका अध्यक्ष इश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै बुद्धशान्ति ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेती, बुद्धशान्ति गाउँपालिका कृषि शाखा प्रमुख भुपेन्द्र यादव लगायतको आतिथ्य रहेको थियो । संस्थाका उपाध्क्ष सुरज दंगालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव खेमराज कट्टेलले गरेका थिए ।