फिक्कल । उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् ।

किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करिब ५ सय किलोग्रामभन्दा बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका हुन् । किसानले आईतबारसाँझ नगरपालिका अगाडि, नयाँ चोक र फिक्कल बजारमा चिया पोखेर बिरोध जनाएका छन् ।

यसअघि किसान र उद्योगीबीच भएको सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मुल्य निर्धारणसम्वन्धी कार्यविधि २०७५ लागु गरेर हरियोपत्तीको न्यूनतम मुल्य प्रति किलोग्राम ४० रुपैया कायम गरेको थियो । उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरिद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।

उद्योगीहरुको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधिहरुबीच उद्योग संचालन गर्ने सहमति भएको थियो ।

समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मुल्यमा चिया खरिद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीनरुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो । उद्योग संचालनमा आएको १२ घण्टा नबित्दै चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानहरुले अर्को आन्दोलन थालेका हुन् ।