काठमाडौं । भारतले चर्को दबाव दिएपछि सरकारले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले शुक्रबार बसेको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा यसको जानकारी दिएका हुन्। भारतले चर्को दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदले सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएको हो । कृषि तथा पशुपंक्षी विकासमन्त्री खनालले भारत र तेस्रो देशबाट आयात हुँदै आएको तरकारी र फलफूलको विषादी परीक्षण सरकारले फिर्ता लिएको पुष्टि गरेका छन् । ‘वाणिज्य मन्त्री मात्रिका यादवले ‘लाइन मिनिष्ट्री’सँग छलफलै नगरी एकलौटी विषादी परीक्षण निर्णय फिर्ता लिने विषयमा मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लगेु’, शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकलाई सम्बोधन गर्दै कृषिमन्त्री खनालले भने, ‘उक्त निर्णय मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको छ।’

भारतको तीव्र दबाव

केही दिनअघि भारतीय दूतावासले आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको थियो । दूतावासले लेखेको पत्रमा तरकारी आयात प्रक्रिया निर्वाध सुचारु गराउन आग्रह गरिएको थियो । नेपालले भारत र तेस्रो मुलुकबाट तरकारी, फलफूल आयात गरिरहेको छ। तरकारी र फलफूल विषादीयुक्त भएको पाइएएपछि सरकारले भन्सारमै चेकजाँच गरिरहेको थियो।

नेपालले चेकजाँच गरेपछि सीमामै तरकारी कुहिने अवस्था आएपछि दूतावासले सरकारलाई दबाब दिएको थियो। दूतावासले पत्र लेखेर निर्वाध खाद्यान्‍न र तरकारी भित्रिन दिन भनेको थियो । दूतावासका अधिकारीहरुले सरकारलाई यसमा दबाब पनि दिइरहेका छन्। भारतीय दूतावाससँगै उत्तर प्रदेश र बिहारका लोकसभा र विधानसभाका सांसदहरु समेत तरकारीमा विषादी परीक्षण खुलाउने लविङमा जुटेका थिए। उनीहरुले भारतको केन्द्र सरकार र राज्य सरकारलाई यस विषयमा तीव्र दबाव दिएका थिए।

यस्तो थियो रोक्ने निर्णय

केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयपछि असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा चेकजाँच थालिएको थियो ।

सरकारको निर्णायनुसार उद्योग वाणिज्य मन्त्रालयले भारतसहित तेस्रो मुलुकबाट आयात हुने रेडबुलसहितका पेय पदार्थमा पनि सरकारले प्रतिबन्ध लगाएको छ। शक्तिवर्द्धक पेय पदार्थमा प्रतिबन्धसँगै तरकारीमा विषादी पनि जाँच थालिएको थियो। सरकारले भारत र तेस्रो मुलुबाट आइरहेको तरकारी र फलफूल भन्सार बिन्दुमै क्‍वारेन्टाइन र विषादीको अवशेष परीक्षण गरिरहेको छ।

सरकारले गरेको निर्णयानुसार सुनौली, वीरगन्ज, विराटनगर, नेपालगञ्ज र काँकडभिट्टासहितका नाकाबाट आउने तरकारी र फलफूल परीक्षण भइरहेको थियो। परीक्षणका क्रममा विषादी नभएको कागजात नेपाली अधिकारीले दिएपछि मात्रै भारतीय तरकारी नेपाल छिर्ने व्यवस्था गरिएको थियो।

किन भयो फिर्ता

भारतको तीव्र दबावपछि नेपाल सरकारले विषादी परीक्षण फिर्ता लिएको छ । अब भारत र तेस्रो मुलुकबाट आउने तरकारीमा तत्काल विषादी परीक्षण हुनेछैन ।

‘भारतीय दूतावास तथा बिहार युपीका सांसदहरुसमेत नेपाल सरकारको निर्णय फिर्ता गराउने दबावमा जुटेका थिए’, प्रधानमन्त्रीका एक सहयोगीले भने, ‘विषादी परीक्षण गर्ने मेसिनसहितको पूर्वाधार भन्सारमा स्थापना नगरुनजेलका लागि फिर्ता लिने निर्णय भएको छ।’

स्रोतका अनुसार तरकारी र फलफूलको विषादी परीक्षणको झन्झटिलो प्रक्रियालाई लिएर भारतीय पक्ष रुष्ट भएको थियो । नेपालका सीमामा विषादी परीक्षणस्थल नभएकाले भारत र तेस्रो देशबाट आउने तरकारी र फलफूलको नमूना संकलन गरेर काठमाडौंको कालीमाटीमा परीक्षा गरिन्थ्यो ।

त्यसो गर्दा तीनदेखि चार दिनसम्म समय लाग्थ्यो । यो अवधिमा भारत र अन्य मुलुकबाट आएको फलफूल र तरकारी कुहिने अवस्था भएको थियो । सरकारले सीमामा विषादी परीक्षणस्थल आगामी ६ महिनामा बनाइसक्ने गरी आफ्नो निर्णय फिर्ता लिएको हो। थाहा खबरमा समाचार छ ।