पथरी । चोरी गरेको रकमसहित मोरङको पथरीशनिश्चरे नगरपालिका-१ बाट प्रहरीले एक सातापछि चोरीमा संलग्नलाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गमा शंकास्पद तरिकाले हिंडिरहेको अवस्थामा उर्लाबारी नगरपालिका-३ मंगलबारेका २० वर्षीय सुनील विक पक्राउ परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले चोरीको घटना भएको एक सातापछि चोरी गरेर लगेको केही रकमसहित विकलाई पक्राउ गरिएको जनाए। उनका अनुसार यही असार १३ गते पथरीशनिश्चरे नगरपालिका-२ त्रिभुज चोककी ३१ वर्षीया सरिता लिम्बूले घरमा राखेको नगद १ लाख ७२ हजार, दुईबाट मोबाइल, एउटा घडी र एनएमबी बैंकको चेक चोरी भएको थियो।

लिम्बूले घटनामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएकी थिइन्। प्रहरीले खोजी गर्ने क्रममा पथरीशनिश्चरे-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट विकलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ गरेर चेकजाँच गर्ने क्रममा विकको साथबाट लिम्बूको नाममा रहेको एनएमबी बैंकको चेक, ८७ हजार सात सय ४० रुपैयाँ पैसा र मोबाइल फेला परेको डीएसपी श्रेष्ठको भनाइ छ।

उनले चोरी भएको पूरै रकम फेला नपरे पनि केही रकम भने विकको साथमै भेटिएको बताए। उनका अनुसार पक्राउ परेका विरुद्ध मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।