झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिबार एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-६ पालिया पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४ ख ५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे. ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेचीनगर-६ का ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो।

उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिए पनि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।