झापा । झापामा मध्य असार सकिँदासमेत धान रोपाइँले गति लिन सकेको छैन। सातायता वर्षा नभएकाले झापामा रोपाइँ गर्न किसानले पाएका छैनन्। झापामा अहिले १५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ भने इलाममा मध्य असार बित्दा पनि २५ प्रतिशतमात्र रोपाइँ सकिएको छ ।

पर्याप्त वर्षा नभएकै कारण किसानले समयमा धान रोप्न पाएका छैनन्। विद्युतीय मोटरले समेत काम नगर्दा समयमा रोप्न नपाएको कमल-६ का किसान विष्णुबहादुर खड्काले बताए। ‘समयमा पानी पर्दैन, पानी नपरेपछि विद्युत् खपत बढ्ने भयो, मोटर पटक्कै चल्दैन’, उनले भने, ‘गत असारको तेस्रो सातासम्म धान रोपिसकिएको थियो। अहिले त थालिएको छैन।’

कमल-६ का दीपक गौतमले भने, ‘गत वर्ष यस बेलासम्ममा आधा रोपाइँ सकेका थियौं। यस पटक त रोपाइँ सुरु गर्नै पाएको छैन।’ अर्का किसान मित्रलाल अधिकारी भन्छन्, ‘बल्ल बल्ल गरेको अलिकति रोपाइँलाई मोटरका भरमा टिकाउन गाह्रो छ।’ ढिलो रोपाइँ गर्दा बीउ छिप्पिनाले उब्जनीसमेत घट्ने पीर किसानको छ। चैते धानमा नोक्सानी भोगका किसानलाई असारे धानले समेत निराश बनाएको छ।

१५ लाख ५२ हजार ४ सय ६९ हेक्टर असारे धान रोपाइँ हुने खेतमध्ये २ लाख २१ हजार २ सय २६ हेक्टर ९१४.२५ प्रतिशतमा मात्र रोपाइँ भएको हो। ‘खडेरीले यस वर्ष धान उत्पादन हुनेमा शंका छ’, गौरादह-४ का टंक फुयाँलले भने, ‘समयमा पानी परेन, सिँचाइको सुविधा पनि छैन, अनि धान कसरी रोप्ने ?’ किसानले वैकल्पिक व्यवस्थाका लागि पानी तान्ने मोटरसमेत राखेका छन्। ‘तर अनियमित विद्युत् आपूर्तिका कारण मोटर चल्दैनन्’, फुयाँलले भने, ‘मोटर चले पनि भोल्टेज पुग्दैन।’

कतिपय किसानले असारको सुरुआतमै रोपे पनि रोपो सुकेको छ। पर्याप्त सिँचाइ नहँदा अगाडि रोपिएका धानसमेत मर्न थालेका छन्। ‘धान सर्नलाई समय लाग्नुपर्ने हो, तर यस वर्ष पानी नपरेकाले रोपो नै सुक्यो’, रुद्र पौडेलले भने, ‘यस वर्षको खडेरीले सखापै पार्ला जस्तो छ।’

प्रविधिको प्रयोग बढ्दो
झापाको कचनकवलमा ब्याड नै नराखी धान रोप्ने प्रविधिमा किसान आकर्षित भएका छन्। धान रोप्नका लागि बीउ राख्ने र रोप्ने रोपारको झन्झट गर्नु नपर्ने भएपछि किसान बीउ छर्ने हाते मेसिन ड्रम सिडरतर्फ आकर्षित हुन थालेका हुन्। धान सुपर जोनका कृषकले यो प्रविधि प्रयोग गरेका हुन्।

परीक्षणपछि गत वर्षदेखि प्रयोगमा आउन थालेको ब्याड नै नराखी सिधै धान रोप्न मिल्ने ड्रम सिडर बीउ छर्ने सस्तो र सजिलो प्रविधितर्फ आकर्षण बढेको कचनकवल-६ बालुबाडीका कालीबहादुर लिम्बूले बताए। यस वर्ष ड्रम सिडर प्रविधिबाट ३० विघामा चैते धान रोपिएको छ। ब्याड र रोपारको खर्च बचत हुने भएपछि हिउँदे धानसमेत ३० बिघा क्षेत्रमा लाउने कार्य सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोनका प्रमुख धनबहादुर थापा मगरले जानकारी दिए। धान सुपर जोन क्षेत्रमा अहिले २ हजार २ सय हेक्टरमा धान खेती हुँदै आएको छ। राज्यले कृषि आधुनिकीकरणमा गरेको लगानीले पछिल्लो समय झापामा धान उत्पादन बढेको छ।

यसैगरी, मध्य असारमा पनि पर्याप्त पानी नपर्दा इलाम जिल्लाको कृषि क्षेत्रमा ठूलो असर परेको छ । बर्षा कम भएका कारण मध्य असार बित्दा पनि किसानले वाली लगाउन नसक्दा सिंगो कृषि क्षेत्रमा असर पर्ने भएको हो ।

लामो समय सम्म पर्याप्त पानी नपर्दा किसानले समयमा धान वाली लगाउन सकेका छैनन् । जिल्ला भरमा मंगलबार सम्ममा २५ प्रतिशत मात्र रोपाँई गरिएको छ । कृषि ज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ शाहले सबै ठाउँमा अहिलेसम्म पनि पर्याप्त बर्षा नभएका कारण रोपाँई ढिलो भएको जानकारी दिनु भयो । इलामको बढी धान उत्पादन हुँने चुलाचुली गाउँपालिका, माई नगरपालिका, माङसेबुङ गाउँपालिक र फाकफोकथुम गाउँपालिकामा रोपाँई कमै मात्र भएको छ ।

रोङ गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका केही क्षेत्रमा रोपाई गरिएको छ । प्रमुख शाहले अझै केहि दिन पानी नपर्ने हो भने जिल्लाको तल्लो भागमा धानको ब्याड नै सुक्ने अवस्थामा पुगेको बताउनु भयो । जिल्लाको १४ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ । बर्षा कम भए पछि मकै वालीमा समेत असर देखिन थालिएको छ ।

मकैमा सुत्ला लागे पनि बर्षा कम भए पछि घोगा नलागी सुक्न थालेको गजुरमुखीका किसान तारा राईले बताउनुभयो । हिउँदमा असीनाले क्षती गरेको अलैंची बाली पनि उस्तै छ । अलैंची वालीमा खडेरीको असरका कारण नयाँ बिरुवा उत्पादन हुँन नसकेको नयाँबजारका किसान भरत भट्टराईले जानकारी दिनु भयो । उहाले भन्नु भयो, ‘अलैंचीको नयाँ टुसा त पलाउन सकेन, लागेको फुल समेत सुक्न थालेको छ ।’ बर्षा कम भएका कारण किसानका खेतबारी अहिले पनि बाझै रहेका छन् । समयमा वाली लगाउन नपाए पछि उत्पादन घट्ने रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले बताउनु भयो ।

बर्षा कम भएका कारण बृक्षा रोपण समेत हुँन सकेको छैन । जिल्लाको तल्लो भाग माई नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिकाका बिभिन्न स्थानमा बृक्षारोपण हुन नसकेको हो । डिभिजन वन कार्यालय इलामका अनुसार उक्त क्षेत्रमा असार पहिलो सातासम्ममा बृक्षारोपण गर्ने योजना भए पनि बर्षा कम भएका कारण हालसम्म बृक्षारोपण गर्न नसकिएको डिभिजन बन अधिृत श्रीप्रसाद वरालले बताउनुभयो ।