झापा । झापाको अर्जुनधारा-९ स्थित शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ ओपीडी भवन निर्माण भएको छ । नवनिर्मित ओपीडी भवनको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष पूष्पकुमार प्रसाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सांसद् वृख प्रधान र नगर प्रमुख हरिकुमार रानाले संयुक्तरुपमा रिबन काटेर भवनको उद्घाटन गरेका थिए । त्यस क्रममा अतिथि दुवै जनाको रक्तचाप डा. अनिता चापागाईंले परीक्षण गरेकी थिइन् ।
गत चैत २१ गते सम्झौता भई असार २० गते निर्माण सम्पन्न भएको उक्त भवनमा चार वटा ओपिडी कक्ष, एउटा पूर्जा काट्ने कक्ष र एउटा औषधि वितरण कक्ष रहेको छ । केन्द्रका सिनियर अहेव डम्मरबल्लभ मिश्रका अनुसार भवनको जम्मा लागत १९ लाख रुपैयाँ रहेको छ । त्यसका लागि प्रदेश सांसद् विकास कोषको १० लाख रुपैयाँ, अर्जुनधारा नगरपालिकाको पाँच लाख रुपैयाँ र केन्द्रको चार लाख रुपैयाँ उल्लेख गरिएको छ ।
भवन उद्घाटन पश्चात् आयोजित सम्बोधनको क्रममा प्रमुख अतिथि प्रधानले केन्द्रमा रहेको प्रयोगशालामा आवश्यक सामग्री तथा केन्द्र परिसरमा रहेको पार्किङ व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिनियर अहेव मिश्रले केन्द्रको गतिविधि र अवस्थाका विषयमा जानकारी गराएको कार्यक्रममा नगर प्रमुख राना, जग्गादाता छत्रमणी ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । समितिका उपाध्यक्ष रामप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रयोगशाला प्राविद्यिक अधिकृत केशव अधिकारीले गरेका थिए ।