भद्रपुर । झापाको गौरदाहमा करेन्ट लागेर एक बालकको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिकाका ६ वर्षीय रोशन महतो रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार उनी हाल झापाको गौरादह नगरपालिका-८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दै आएका थिए ।

प्रहरीका अनुसार कोठाभित्र चार्ज गर्न राखिएको मोबाइल फोन छुँदा उनलाई करेन्ट लागेको हो । ‘भिजेको हातले चार्जमा राखिएको मोबाइल फोन छुँदा घटना हुन पुग्यो’, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने । उनका अनुसार रतुवामाई १ का गोल्छा महतोका ६ वर्षीय छोरो रोशन मामा संजित महत्तोको घरमै बसेर स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए ।

यता इलाका प्रहरी कार्यालय गौरीगञ्जले कानुनी प्रक्रिया पुरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाइएको छ ।