झापा । प्रदेश सरकारले दिएको एक करोड रुपैयाँको लागतमा शिवसताक्षीको दूधेदेखि बच्चाबगर जोड्ने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । प्रदेश सरकार, शिवसताक्षी नगरपालिका र स्थानीय समुदायको सहभागितामा सडकको कालोपत्रे हुने भनिएको थियो ।

तर, शिवसताक्षी नगरपालिकाले उक्त सडकमा कालोपत्रे गर्न चासो नदेखाएपछि ढिलोगरी काम सुरु भएको स्थानीय नरबहादुर राईले बताए । ड्रेन टु ड्रेन कालोपत्रे गर्ने गरी स्थानीयबासी नगरपालिकामा डेलिगेसन गएका थिए । तर, नगरले ढिलागरी साझेदारीमा पैसा दिन बजेट नभएको बताएपछि असार १५ गतेदेखि नगरको ११ नम्वर वडामा पर्ने उक्त सडकको कालोपत्रे निर्माण सुरु भएको राईले बताए ।

प्रदेश सरकारको १ करोड रुपैयाँ बजेटमा दुवैतर्फ ९७० मिटर स्तरीय डे«न निर्माण भएको छ भने ६५० मिटर सडकमा १३ फिट कालोपत्रे हुने निर्माण व्यवसायी भीम साँवाले बताए । झापा निर्वाचन क्षेत्र नम्बर ४ (क) का सांसद झलकबहादुर दर्लामी मगरको निर्वाचन क्षेत्रमा चालु वर्षको यो अवधिसम्म २५ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै स्तरीय ग्राभेल पनि ३० किलोमिटर भएको उनका स्वकीय सचित दुर्गा नेम्वाङ्गले बताए ।

सांसद मगरले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि मात्र यो वर्ष २५ करोड रुपैयाँ प्रदेश सरकारबाट भित्राएर ९७ प्रतिशत निर्माणका काम सम्पन्न गरेका छन् ।