रासस,
काठमाडौँ । मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपाल नजिक रहेकाले आइतबारसम्म मनसुन अति सक्रिय रहने जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर मनसुनी वर्षा जारी रही देशका पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू(भागमा केही स्थानमा र पश्चिमी भू-भागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति देशका पूर्व र मध्यक्षेत्रका पहाडी भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आइतबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने र खासगरी पूर्व तथा मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रही पूर्वी क्षेत्रका एक-दुई स्थानमा र पश्चिमी पहाडका केही स्थानमा अति भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा १८.० मिलीमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २१.९, दाङ २३.४, धनगढीमा २६.५, नेपालगञ्जमा २४.५, वीरेन्द्रनगरमा २४.० र जुम्लामा १५.६ मिलीमिटर वर्षा मापन गरिएको छ ।

बाढीपहिरो र डुबानले ३० जनाको ज्यान लग्यो

अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानमा परी शनिबार दिउँसोसम्म ३० जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ। स्थानीय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोलीले संयुक्त उद्धार गरेको थियो। बाढीपहिरोबाट धनमाल समेत क्षति भएको छ।

मृतकहरुको संख्या
बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३-३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २-२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १-१ जना गरी ३० जनाको ज्यान गएको हो।

घाइतेहरु
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका हुन्।

बेपत्ताहरु
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १र१ जना गरी १८ जना बेपत्ता भएका छन्।

दिउँसो २ बजेसम्म बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित छन।