सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा मध्यरातमा ३ लाख ७१ हजार १ सय क्यूसेक पानी प्रतिसेकेण्ड भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको हो । पछिल्लो मापनअनुसार अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार दिउँसो पानीको बहाव तीन लाख १८ हजार ६५० क्यूसेक थियो ।

५० वर्ष आयु भएको यस पुल निर्माण भएको ६० वर्ष पुगिसकेको छ । एक दशकअघि ब्यारेजभन्दा माथि पश्चिम कुशहामा बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएको थियो । त्यसैले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोसीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले प्राविधिक टोलीसहित नियमित अनुगमन गर्न र सतर्क रहन सूचित गरेको थियो ।