झापा । लगातारको बर्षासंगै आएको बाढी पहिरोका कारण ४५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका सह प्रवक्ता रमेश थापाका अनुसार विभिन्न स्थानमा ३३ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका छन् ।

सेना, प्रहरी परिचालन गरेर विभिन्न स्थानमा उद्दार कार्य जारी राखेको उहाले जानकारी दिनुभयो । कोशीमा पानीको सहत बढेपछि आज बिहान ३ बजेदेखि ५६ वटै ढोका खोलिएको उहाले बताउनुभयो । सह प्रवक्ता थापाका अनुसार बीपी राजमार्गको अवरोध हटाउने कार्य शुरु भएको छ । बाटोमा खसेका ढुंगा फोडेर खुलाउने प्रयास भइरहेको उहाले जानकारी दिनुभयो ।

यस्तै महोत्तरीस्थित भव्सी खोलाको पुल भत्किएर बाटो अवरुद्द बनेपछि सवारी साधन डाइभर्ट गरिएको छ । कालिकोट, मुस्ताङ, ललितपुर लगायतका जिल्लामा पहिरोका कारण बाटो अवरुद्द बनेका छन् । यसैबीच लगातारको वर्षाका कारण आएको बाढीमा परि रौतहटको गौर ३ टिकुलियाका शिवमंगल राउत पटेल र ईशनाथ १ बन्जरहाका हरेन्द्र राय यादवको मृत्यु भएको छ । घरबाट बाहिर निस्कदै गर्दा बगाएर दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्गा भगवती गाउपालिका ४ का विरेन्द्र मिश्र बाढीमा परेर बेपत्ता छन् । मिश्रको खोजीकार्य भईरहेको जिल्ला प्रहरीले जनाएको छ । लगातारको बर्षापछि सर्पको बिगबिगी पनि बढेको छ । चन्द्रनिगाहपुर क्षेत्रमा १५ जनालाई सर्पले डसेको छ । उनीहरुको सरकारी अस्पतालमा उपचार भईरहेको सहकर्मी शिव पुरीले जनाएका छन् ।

बर्षाले जमिन डुबानमा परेपछि सर्प घर घरमा पस्न थालेका छन् । यता लगातारको वर्षापछि डुबानमा परेको सदरमुकाम गौरको जनजीवन झनै कष्टकर बनेको छ । डुबान केही कम भएपनि मानिसहरु बाहिर निस्कन सक्ने अवस्था छैन । गौर क्षेत्रमा डुबानमा फसेकाहरुलाई नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाले डुंगाको मद्धतले उद्धार गरीरहेका छन् ।